फुल कन्ट्याक्ट कराते प्रतियोगिता

फुल कन्ट्याक्ट कराते: विनय र मन्जुलाई स्वर्ण

काठमाडौं । विनय सिंह र मन्जु विकले २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । 

खुला तौलसमूहको पुरुषमा विनय तथा महिलामा मन्जु च्याम्पियन बने । दुवै नेपाल आर्मीका खेलाडी हुन् ।

नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा विनयले क्योकुसिन कानका सन्तोष विश्वकर्मालाई पराजित गरे । क्योकुसिनकानका रविन्द्र बुढाथोकी तेश्रो तथा रानीपोखरीका होमबहादुर राई चौथो भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ( राखेप) मा भएको प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा मन्जुले आर्मीकै अनुपा नेपालीलाई हराइन् । आर्मीकी सपना आले मगर तेश्रो तथा रानीपोखरीकी अनिशा तामाङ चौथो स्थानमा रहे ।

महिला ५० केजीमुनि बुदोकैदोकी उषा रावल पहिलो भइन् । उषाले फाइनलमा क्योकुसिन वज्रकी आशा गिरीको चुनौती पन्छाइन् । केडब्लुडब्लुकी सिवानी आले मगर तेश्रो तथा क्योकुसिन वज्रकी स्वस्तिका थारु चौथो बने ।

विजेतालाई पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान, आयोजक संघका संस्थापक अध्यक्ष जगतप्रसाद गौचन, आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरे ।