ओलम्पिक छनोट

ओलम्पिक छनोटका लागि नेपाली टोली घोषणा

फाइल फोटो

काठमाडाैं । पेरिस ओलिम्पिक २०२४ को एसियाली छनोट अन्तर्गत पहिलो चरणका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार मुख्य प्रशिक्षक अनन्तरानज थापाले २२ सदस्यीय टोली घोषणा गरेको जानकारी दिएको हो ।

टोलीमा पूजा रानले पुनरागमन गर्दा सृजना चेम्जोङले पहिलो पटक स्थान बनाएकी छन् । यसैगरी गीता राना र मञ्जलीकुमारी योञ्जन भने चोटका कारण बाहिरिएका छन् ।

समूह ‘सी’मा रहेका अफगानिस्ता र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र प्रतिस्पर्धा गर्ने भएको छ ।

पहिलो खेल चैत २२ र दोस्रो खेल चैत २५ मा हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेपछि हुनेछ ।

भियतनामको टोली प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि भदौ २० गते नेपाल आइपुग्नेछ ।

प्रतियोगिताका लागि एन्फाले एमडिएसी स्पोर्टस प्रालिसँग मार्केटिङ र ब्रोडकास्टिङ अधिकारको लागि सम्झौता गरिसकेको बताएको छ । त्यस्तै एन्फाले टिकट दर साधारण पाराफिटतर्फ तीन सय र भिआइपी पाराफिटतर्फ एक हजार रुपैयाँ तोकिएको जानकारी गराएको छ ।

खेलका टिकटहरु खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरुबाट पनि किन्न सकिनेछ ।

समूहको शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ । पहिलो चरणमा कुल २६ एसियाली राष्ट्रलाई सात समूहमा विभाजन गरिएको छ । जसमध्ये तीन राष्ट्रले नाम फिर्ता लिएका छन् । नाम फिर्ता लिने अर्को टोली श्रीलंका हो ।

फिफा वरियताका आधारमा उत्तर कोरिया, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र चीनले यसअघि नै दोस्रो चरणमा स्थान बनाइसकेका छन् ।

कुल १२ देशको सहभागिता रहने पेरिस ओलम्पिकको महिला फुटबलमा एसियाबाट शीर्ष दुई टोलीले स्थान बनाउनेछन् ।

  नेपाली टोली 

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा(कप्तान), अञ्जना राना मगर, उषा नाथ

रक्षकः समीक्षा घिमिरे, हीराकुमारी भुजेल, अमृता जैसी, विमला विक, निशा थोकर, पूजा राना, सृजना चेम्जोङ

मिडफिल्डरः रेनुका नगरकोटी, विमला चौधरी, सरु लिम्बु, अनिता बस्नेत, दीपा शाही, सविता राना मगर, अनिता केसी

फरर्वाडः सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, अमिषा कार्की, निर्मला विक