इङ्लिस प्रिमियर लिग

चोटका कारण हाल्यान्डले लिभरपुलविरुद्धको खेल गुमाउने सम्भावना

काठमाडौं ।  म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ ब्राउट हान्यान्डले इंग्लिस प्रिमियर लिग अन्तरगत लिभरपुलविरुद्धको खेल गुमाउने सम्भावना बढेको छ ।

घरेलु टोली सिटी र लिभरपुलबीचको खेल इतिहाद स्टेडियममा शनिबार साँझ ५ः१५ बजे सुरु हुनेछ ।  

एफए कपको क्वाटरफाइनलमा सिटीले बर्नलीलाई ६-० ले हराउँदा हाल्यान्डले ह्याट्रिक पूरा गरेका थिए । उक्त खेलमै उनले ग्रोइनमा समस्या देखिएको थियो ।

चोटकै कारण नर्वेका हाल्यान्डले युरो कप छनोट अन्तर्गत स्पेन र जर्जियाविरुद्धको खेल पनि गुमाउनु परेको थियो ।

फिफा विश्रामपछि फर्किएपछि हाल्यान्डले पछिल्लो दुई दिनदेखि प्रशिक्षण गरेका छैनन् ।

एपेन्डिक्स शल्यक्रिया गरेका मिडफिल्डर फिल फोडेनले पनि लिभरपुलविरुद्धको खेल गुमाउने पक्का भइसकेको छ ।