काठमाडौं । प्रधानमन्त्री त्रिदेशीय कपको पहिलो खेलमा नेपालसँग हार बेहोरेपछि पत्रकार सम्मेलनमा उपस्थित लाओसका प्रशिक्षक माइकल वाइसले दशरथ रंगशालाको मैदानको आलोचना गरे । ‘सतह नमिलेको मैदानमा नेपालले दुई गोल गर्यो र जित्यो,’ वाइसले दिएको प्रतिक्रिया थियो ।
नेपालको सबैभन्दा पुरानो रंगशालाको मैदानको आलोचना गर्ने वाइस पहिलो विदेशी प्रशिक्षक होइनन् । सेप्टेम्बर, २०२१ मा भारतका प्रशिक्षक इगोर स्टिमचले पनि दशरथ रंगशालाको मैदानलाई असाध्यै खराब रहेको बताएका थिए ।
मैदानको आलोचना अहिले आएर मात्र भएको होइन । अलोचनाको इतिहास गहिरो छ । अक्टोबर, २००९ मा काठमाडौँमा एएफसी अन्डर-१९ च्याम्पियनसिप भइरहँदा किर्गिस्तानका प्रशिक्षक भ्लादिमिरले पनि दशरथ रंगशालाको मैदान असाध्यै खराब रहेको बताएका थिए ।
त्यसको ठ्याक्कै सात वर्षअघि दशरथ रंगशालामै सानमिगेल अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता भएको थियो । त्यसबेला भारतीय क्लब इस्ट बंगालका प्रशिक्षक सुभाष भौमिकले यस्तो टिप्पणी गरेका थिए, ‘यो मैदान कुनै कोणबाट खेल्न लायकको छैन ।’
आलोचना पाहुना टिमका प्रशिक्षकले मात्र होइन, नेपाली टिमकै प्रशिक्षकले पनि गरेका छन् । सन् २०११-२०१२ मा नेपाली टिम सम्हालेका ग्राहम रोबर्ट्सले पनि दशरथ रंगशालाको मैदानको आलोचना गरिरहे ।
रोबर्ट्सले आफ्नो प्रशिक्षणकालमा नेपालका अरु मैदानबाट पनि चित्त बुझाउन सकेनन् । पोखरा रंगशालामा नेपालले भुटानको सामना गर्नुअघि रोबर्ट्सले भनेका थिए, ‘यो मैदानमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीले पनि खेल्न सक्दैनन् ।’
रोबर्ट्सले आलोचना गरेको पोखरा रंगशालाको मैदान हाल पुरानो स्थितिमा छैन । रंगशाला नयाँ बनाइँदा, मैदानको पनि स्तरोन्नति गरियो । दशरथ रंगशालाको मैदान चाहिँ उस्तै छ । भूकम्पले धराशायी बनाएको दशरथ रंगशालालाई रेट्रोफिट त गरियो, मैदान भने उस्तै छाडियो । दशरथ रंगशालाको मैदानको आलोचनाको सिलसिला रोकिनेवाला छैन । तर दुई उपाय अपनाए चाहिँ आलोचना रोक्न सकिन्छ । पहिलो, मैदानको पुनःनिर्माण । दोस्रो, दशरथ रंगशालामा खेल नै नखेलाउने ।
छैन दशरथ रंगशालाको विकल्प
नेपालको फुटबल लगभग केन्द्रिकृत छ । यसो किन भनिएको हो भने, राष्ट्रिय टिमका लगभग सबै खेल काठमाडौंमा हुन्छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि उपत्यकामै हुने गरेको छ । लिग खेल्ने १४ क्लब नै यहीका छन् । दोस्रो श्रेणीको ‘बी’ डिभिजनका बहुमत क्लब पनि उपत्यकाकै छन् ।
‘ए’ डिभिजन खेलाउन घोषित मुख्य रंगशाला दशरथ रंगशाला नै हो । यसपालि च्यासल रंगशाला थपिएको छ । सिजन जारी छ, तर त्यहाँ निर्माण पूर्ण रुपमा सकिएको छैन । यद्यपि मैदान भने तयार छ । दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै स्तरोन्नतति गरिएको च्यासलको मैदान अन्तर्राष्ट्रिय स्तरको थियो ।
तर गत वर्षको बर्षे भेलले च्यासल मैदानको हरियोपना तहसनहस बनाइदियो । त्यसो हुँदाहुँदै पनि त्यहाँको मैदानमा घाँसको गुणस्तर दशरथ रंगशालाको भन्दा गतिलो छ । भलै मैदानको लम्बाइ र स्वरुपको आलोचना भने जारी छ ।
साँघुरो प्यारापिट, अपर्याप्त पार्किङ, कमजोर भौतिक पूर्वाधार लगायतका कारण च्यासल रंगशाला दशरथ रंगशालाको बलियो विकल्प बन्नसक्ने अवस्था छैन । एकैपटक चार-पाँच हजार दर्शक आए, च्यासल रंगशाला स्वतः अव्यवस्थित हुनेछ । कतिसम्म भने पर्याप्त शौचालय समेत छैन । न त पत्रकार सम्मेलनका लागि उपयुक्त हल कै व्यवस्था छ । निर्माण हुँदाहुँदै रोकिएको जस्तो देखिने च्यासल रंगशालामा छाना छैन । यसले गर्दा दर्शक घामपानी सहेरै फुटबल हेर्न बाध्य हुने स्थिति छ ।
एन्फा कम्प्लेक्समा पनि लिगका खेलहरु भइरहेका छन् । जहाँको मैदान कृत्रिम छ । कृत्रिम मैदानका आफ्नै समस्या हुन्छन् । कृत्रिम मैदानलाई लिएर फिफाले गुणस्तर मापदण्ड तय गरेको छ । मैदानलाई दुई समूहमा विभाजन गरिदिएको छ । पहिलो, फिफा क्वालिटी । दोस्रो, फिफा क्वालिटी प्रो ।
पहिलो समूहको मैदानमा सामुदायिक स्तर खेल खेलाउन सकिन्छ । अर्धव्यवसायिक प्रकृतिका प्रतियोगिता पनि सञ्चालन गरेर प्रति साता ४०-६० घण्टासम्म खेल खेलाउन सकिन्छ । प्रो क्वालिटीका कृत्रिम मैदानमा भने व्यवसायिक लिग खेलाइन्छ । यस्तो मैदानलाई अधिकतम २० घण्टा (प्रति साता) व्यस्त राख्न सकिन्छ ।
‘मेन्टेन’ गर्न सजिलो हुने भएकाले नेपाल जस्ता अर्धविकसित देशमा कृत्रिम मैदान अथवा आर्टिफिसियल टर्फ लोकप्रिय हुँदै गइरहेको छ । फिफाले अन्तर्राष्ट्रिय खेलका लागि कृत्रिम मैदानको प्रयोग गर्न दिने व्यवस्था छ । युरोपेली फुटबल महासंघ यूइएफएले पनि यसको प्रयोग रोकेको छैन । भलै च्याम्पियन्स लिग फाइनल भने यस्तो मैदानमा खेलाउन पाइँदैन ।
इङ्ल्यान्डको कुरा गर्ने हो भने, त्यहाँका व्यवसायिक लिगमा प्राकृतिक घाँस भएको मैदान अनिवार्य हो । युरोपका अन्य ठूला लिगमा पनि कृत्रिमभन्दा प्राकृतिक घाँस भएका मैदान नै रुचाइन्छ । कारण ? कृत्रिममा खेलाडी घाइते हुने सम्भावना बढी हुन्छ ।
विश्व फुटबल विस्तारै हाइब्रिड घाँस भएको मैदानतिर अघि बढिरहेको छ । यस्ता मैदानमा कृत्रिम घाँस र प्राकिृतिक घाँसको अनुपात मिलाएर प्रयोग गरिएको हुन्छ । इङ्लिस प्रिमियर लिगका सबै क्लबका मैदान हाइब्रिड घाँसयुक्त हुन् ।कतिसम्म छिमेकी भारतमा समेत यो प्रविधि आइसक्यो । फिफा अन्डर-१७ विश्वकपका लागि गोवास्ति फटोर्दा रंगशालामा हाइब्रिड घाँसयुक्त मैदान तयार पारिएको थियो । यसो गर्न करिब आठ करोड रुपैयाँ लागेको र यसको खर्च फिफाले बेहोरेको बताइएको छ । कतारमा भएको विश्वकपका लागि तयार पारिएका आठ रंगशालामध्ये सातको मैदान हाइब्रिड घाँसयुक्त थिए । हाइब्रिड घाँस भएको मैदान कम्तीमा आठ वर्ष केही नहुने र यसलाई मेन्टेन गर्न प्राकिृतिक घाँस भएको मैदानभन्दा फरक नहुने बताइन्छ ।
विश्व फुटलबमा छ्याप्तछ्याप्ती यस्ता प्रविधि नेपालमा भित्र्याउन सजिलो छैन । यसको मुख्य कारण, आर्थिक अड्चन हो । तर भएका प्राकृतिक मैदानलाई स्याहारसुसार गर्न ग्राहो छैन ।
दशरथ रंगशालाको भार
अब फेरि केन्द्रित होऔँ, दशरथ रंगशालामै । कुनैबेला अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालिन उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ सधैँ गुनासो गर्थे, ‘अन्तर्राष्ट्रिय रंगशालाको नाममा यही दशरथ रंगशाला छ । यसको मैदान हामी स्याहारर्छौँ । तर राखेप (राष्ट्रिय खेलकुद परिषद्) भाडामा लगाइदिन्छ । कन्सर्ट गर्न दिन्छ । जसकारण मैदान बिग्रिन्छ ।’
एक दशकपछि पनि गुनासो उही, समस्या त्यही । गत माघमा एन्फाका महासचिव किरण राईले चिन्ता व्यक्त गरे, ‘लिग हुँदाहुँदै राखेपले दशरथ रंगशाला भाडामा लगाइदेला भन्ने चिन्ता छ ।’ राखेपले ठ्याक्कै त्यही गर्यो । लिगका लागि तयार पारिँदै गरेको रंगशालामा सांगितिक कार्यक्रम गरियो ।
रंगशालामा कन्सर्ट गर्ने अभ्यास विश्वव्यापी हो । तर यसको पनि समय हुन्छ । देशको खेलकुद नियमन र प्रवर्धन गर्न स्थापित संस्थाले सबैभन्दा लोकप्रिय खेलको सबैभन्दा ठूलो प्रतियोगिता हुनै लाग्दा रंगशाला किन भाडामा लगाउनु ?
एक त पहिले नै खराब मैदान, त्यसमाथि विद्यालयका स्पोर्ट्स विकदेखि कन्सर्टसम्म त्यही, दशरथ रंगशाला यस्ता भारले थिचिएको छ । लिग र अन्तर्राष्ट्रिय फुटबल त छँदैछन् ।
शुक्रबार त्रिदेशीय कप सकियो । अब ओलिम्पिक अन्तगर्तको महिला फुटबल छनोट पनि दशरथ रंगशालामै हुनेछ । त्यो पनि लिगको बीचमा । आगामी चैत २२ र २५ गते नेपालले भियतनामको सामना गर्ने तालिका छ । दशरथ रंगशालाको मैदान बचाउन त्यसबीचमा लिगका खेल त्यहाँ गरिने छैन । पहिल्यै खराब स्थितिमा रहेको मैदानलाई बचाउँदै अन्तराष्ट्रिय खेल र लिग गराउने काम कम चुनौतिपूर्ण छैन ।
अभ्यास मैदानको पनि अभाव
नेपाली फुटबल विकासका लागि केही ठूला बाधकमध्ये एक रंगशालाको अभावलाई मानिन्छ । तर यसो भनिरहँदा प्रायको मस्तिष्कमा रंगशाला भनेको ढुक्कसँग बसेर खेल हेर्नमिल्ने प्याराफिट आउँछ । जबकि खेल्ने मैदान त्यत्तिकै महत्त्वपूर्ण छ ।
स्तरीय मैदान रंगशालामा मात्र होइन अभ्यासका लागि पनि बनाइनु जरुरी छ । नेपाली फुटबलमा ध्यान नपु¥याएका विषयमध्येको एक यो पनि हो । ‘ए’ डिभिजन लिगका १४ क्लबमध्ये अधिकांशको अभ्यास मैदान छैन । काठमाडौंमा उपलब्ध मैदान पनि संरक्षित छैनन् । नयाँ मैदान खोज्ने त परिपाटी नै छैन ।
न त एन्फा न त क्लब, मैदान खोजीमा कोही निस्किँदैनन् । क्लबहरुको रणनीति हो, भएका धुलाम्मै मैदानमै अभ्यास गर्ने । अनि बेलाबेलामा एन्फाको आलोचना गर्ने, अभ्यास मैदानको व्यवस्था गर्दिएन भनेर । जबकि काठमाडौं उपत्यकाका बाहिरी भागमा स्थानीय नगरपालिकासँग मिलेर पर्याप्त मैदानको व्यवस्था गर्न सकिन्छ ।
काठमाडौं उपत्यकाबाहिर भने पर्याप्त मैदान छन् । तीमध्ये कयौँ मैदान संरक्षित छन् । जस्तै विर्तामोडको डोमालाल राजवंशी मैदान ।
अन्त्यमा,
विश्वका प्राय राष्ट्रिय फुटबल टिमका ‘होम स्टेडियम’ हुन्छन् । नेपाली टिमको ‘होम स्टेडियम’ हालका लागि दशरथ रंगशाला नै हो । जो जीर्ण अवस्थामा छ । भूकम्पले आधा भत्काएका बेला, पूर्ण रुपमा नयाँ बनाउने विकल्प थियो । तर सजिलो विकल्प रोजियो, रेट्रो फिटिङको । नतिजा हाम्रो सामु छर्लङ छ, यो रंगशाला अन्तर्राष्ट्रिय स्तरको भन्न लायक छैन ।
यस्तोमा राष्ट्रिय टिम खेल्ने नयाँ रंगशालाको आवश्यकता छ । अनि सँगसँगैको अर्को आवश्यकता हो, दशरथ रंगशालाको साँच्चैको पुनःनिर्माण । कम्तीमा रंगशालाको मैदान सजिलै स्तरोन्नति गर्न सकिन्छ भन्ने उदाहरण विराटनगरको सहिद रंगशालामा प्रमाणित गरिएको छ । बिहीबार सकिएको विराट गोल्डकपका लागि यो रंगशालाको मैदानको स्तरोन्नति गरिएको हो । त्यो पनि एक महिनाभित्र ।
तर इच्छाशक्ति नभए, खेतजस्तो मैदानमा पनि गोल्डकप गराउन सकिन्छ भनेर खप्तड गोल्डकपले देखाइदिएको छ । धनगढी रंगशालामा बाँझो खेत जस्तो देखिने मैदानमा गोल्डकप जारी छ । सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण भइरहको यो गोल्डकपको खेल हेर्दा आङ सिरिङ्ग हुनेगर्छ । यसको कारण हुन्, मैदानको बीच बीचमा देखिने सेता टाटा । जहाँ घाँसको एक त्यान्द्रो पनि देखिँदैन ।