सहिद स्मारक ‘ए’ डिभिजन लिग

जावलाखेल दुई गोलले पछाडी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ अन्तर्गत अपराजित जावलाखेल युथ क्लबविरुद्ध दुई खेल गुमाइसकेको फ्रेन्ड्स क्लबले पहिलो हाफमा २-० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा १९ औं मिनेटकाे  टोरिक जेब्रिनले ट्याप इन गोल गरेपछि फ्रेन्ड्सले अग्रता बनाएको थियो । कप्तान प्रकाश बुढाथाेकीको शक्तिशाली प्रहारलाई जावलाखेल गोलकिपर अनिस देउलाले बचाए पनि नियन्त्रण गर्न नसक्दा जेब्रिनले अनमार्क रहेको स्थितीमा सहज गोल गरे ।

४० औं मिनेटमा लक्ष्मण रुचालको सुन्दर पासमा कप्तान प्रकाशले गरेको प्रहारले जाली चुम्दा फ्रेन्ड्सले अग्रतालाई दोब्बर बनायो ।

 सुरुआत देखि नै दुवै टोली आक्रमक देखिएका थिए । खेलको दोस्रो मिनेटमै जेब्रिनको शक्तिशाली प्रहार बाहिरिएको थियो ।

२४ औं मिनेटमा जावलाखेलका एनकोटो मेसोबीको प्रहार फ्रेन्ड्सका गोलकिपर राजा बाबु थापाले बचाए । त्यसको एक मिनेटपछि फेरि राजा बाबुले विशाल तामाङको प्रहारलाई रोके ।
जावलाखेल अपराजित यात्रालाई कायम राख्न चाहन्छ । फ्रेन्ड्स भने पहिलो जितको खोजीमा छ ।

यसअघि पहिलो नवप्रवेशी एफसी खुमलटारसँग १-० ले पराजित फ्रेन्ड्सले दोस्रो खेलमा थ्री स्टार क्लबसँग ३-३ को रोमाञ्चक बराबरी खेलेको थियो । तेस्रो खेलमा उसले सातदोबाटोसँग १-० को पराजय ब्यहोरेको थियो ।

जावलाखेलले भने पहिलो खेलमा साबिक विजेता मछिन्द्र क्लबलाई ३-१ ले पराजित गरेको थियो । दोस्रो खेलमा न्युरोड टिम(एनआरटी) लाई २-१ ले हराएको जावलाखेलले तेस्रो खेलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।