पिएसजी

एमबाप्पे विश्वकै उत्कृष्ट फरवार्ड हुन्: गाल्टियर

पेरिस । नान्टेसमाथि कीर्तिमानी गोल गरेका फ्रेन्च स्टार किलियन एमबाप्पेलाई पेरिस सेन्ट जर्मन(पिएसजी) का प्रशिक्षक क्रिस्टोर गाल्टियर विश्वकै उत्कृष्ट फरवार्डको संज्ञा दिएका छन् ।

शनिबार राति फ्रेन्च लिग वानमा पिएसजीले नान्टेसमाथि ४-२ को  जित निकालेपछि गाल्टियरले एमबाप्पेको प्रशंसा गरेका हुन् ।

‘एमबाप्पे विश्वकै उत्कृष्ट फरवार्ड हुन् । उनी रेकर्ड नजिक थिए । जसमा एमबाप्पे सफल भए,’ गाल्टियरले भने,‘उनले पिएसजीको इतिहासमा आफ्नो नाम लेखाइसकेका छन् । साथै, फ्रान्स फुटबलमा पनि इतिहास बनाउने छन् । एमबाप्पे जस्ता उत्कृष्ट खेलाडी हामीसँग हुँदा खुसी छौं ।’

एमबाप्पेले अतिरिक्त समयमा कीर्तिमानी गोल गरेका थिए । योसँगै एमबाप्पे दुई सय ४७ खेलमा दुई सय एक गोल गर्दै पिसएसजीका लिग सर्वाधिक गोलकर्ता बनेका थिए ।  

एमबाप्पेले उरुग्वेका एडिसन काभानीले तीन सय एक खेलमा दुई सय गोल गर्दै बनाएको कीर्तिमान तोडेका हुन् ।

एमबाप्पेले यो सिजनम ३० खेलमा ३० गोल गर्नुका साथै सात गोलका लागि असिस्ट पनि गरेका छन् । 
 

एमबाप्पेले कीर्तिमान बनाएपछि उनका सहकर्मी अर्जेन्टाइन  फरवार्ड  लियाेनल मेसीले पनि बधाई दिएका छन् ।