आइसिसी महिला यु–१९ टी २० विश्वकप

बंगलादेश र युएईको विजयी सुरुआत

काठमाडौं। बंगलादेश र युएईले शनिबारबाट दक्षिण अफ्रिकामा सुरु भएको आइसिसी महिला यु–१९ टी २० विश्वकपमा विजयी सुरुआत गरेका छन् ।

समूह ‘ए’ अन्तर्गत विलोमुरे पार्कमा सम्पन्न खेलमा बंगालदेशले अस्ट्रेलियालाई सात विकेटले पराजित गरेको हो । 

यो जितसँगै बंगलादेशले दुई अंक जोड्दा अस्ट्रेलियाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

अस्ट्रेलियाले प्रस्तु गरेको एक सय ३१ रनको लक्ष्य बंगलादेशले १६ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो । बंगलादेशका लागि दिलारा अख्तरले ४२ बलमा सात चौका मद्दतमा सर्वाधिक ४० रन जोडिन् । यसैगरी सुमिया अख्तरले अविजित ३१,अफिया प्रोताशाले २४ र सेराना अख्तरले अविजित २३ रन बनाए । 
 

चौथो विकेटका लागि सुमिया र सोरानाले अविजित ६१ रनको साझेदारी गरेका थिए ।

अस्ट्रेलियाका लागि क्लो एनिसवर्थले दुई तथा कप्तान रेस म्याकिनाले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सथ ३० रनको योगफल तयार पारेको थियो । 
अस्ट्रेलियाका लागि क्लेयर मुरेले  ५१ बलमा सात चौका मद्दतमा सर्वाधिक ५२ रन जोडिन् ।  यसैगरी  इला हेवार्डले ३५, एमी स्मिथले अविजित १६ र रेस क्याकिनाले अविजित १२ रन बनाए । 
 

तेस्रो विकेटका लागि क्लेयर र इलाले ७६ रनको साझेदारी गरेका थिए । 
 

बंगलादेशका मारुफा अख्तर र दिशा विश्वासले समान दुई तथा राबिया खानले एक विकेट हात पारे ।

यसैगरी विलोमुरे पार्कको दोस्रो मैदानमा सम्पन्न समूह ‘डी’अन्तर्गतको खेलमा युएईले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।

यस जितसँगै युएईले दुई अंक जोड्दा स्कटल्यान्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । 
 

स्कटल्यान्डले प्रस्तुत गरेको एक सय रनको लक्ष्य युएईले १६.२ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

युएइका लागि माहिका गौले २५ बलमा तीन चौका र एक छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ३३ रन जोडिन् । यसैगरी कप्तान तिर्था सतिशले २७ तथा समइरा धरणीधर्काले २३ रन बनाए ।

स्कटल्यान्डका लागि मेइसी मेसिराले दुई तथा नयमा शेख र कप्तान क्याथरिन फ्रेसरले समान एक विकेट लिए । 
 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९९ रनको योगफल तयार पारेको थियो ।

स्कटल्यान्डका लिग इमा वालसिङघमले ३३ बलमा पाँच चौका र एक छक्का मद्दतमा  सर्वाधिक ३७ रन जोडिन् । यसैगरी क्याथरिन फ्रेसरले १७ र नइमह मुइरले १२ रन बनाए ।

युएईका लागि इन्दुजा नन्दकुमार,वैष्णवी महेश र समइरा धरणीधर्काले समान दुई तथा लाभन्या केनीले एक विकेट लिए ।