प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले पुस २९ देखि  माघ ७ सम्म इटहरीको जनता क्रिकेट पार्कमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ र मधेस प्रदेश प्रतिस्पर्धा गर्नेछन् । यो खेल बिहान ९ बजे सुरु हुनेछ । 
सोहि दिन दिउसो १ बजे हुने खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशको सामना गर्नेछ । प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछन् ।

यस प्रतियोगितामा सात प्रदेश र एक विभागीय गरी आठ टोलीको सहभागिता रहनेछ । खेल लिग कम नकआउटको आधारमा संञ्चालन हुने प्रतियोगिताका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साबिकको विजेता नेपाल एपिएफ क्लब,सुदूरपश्चिम,बागमती र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा प्रदेश १,मधेस,लुम्बिनी र कार्णाली प्रदेश छन् ।

प्रत्येक समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने प्रतियोगितामा कुल १८ खेल हुनेछन् ।

प्रतियोगिताको विजेताले पाँच,उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २० हजार  रुपैयाँ पाउनेछन् । यसैगरी प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ले ३ हजार प्राप्त गर्नेछन् ।