नेपाल टी–२० लिग

विराटनगरमाथि जनकपुरको रोमाञ्चक जित

काठमाडौं । चाडविक वाल्टनले ब्याटिङ तथा ललितनारायण राजवंशीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर रोयल्सले नेपाल टी–२० लिगमा लगातार दोस्रो जित निकालेको छ ।

जनकपुर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार सम्पन्न दोस्रो खेलमा विराटनगर सुपर किङ्सलाई पाँच विकेटले पराजित गरेको हो । 
 

विराटनगरले प्रस्तुत गरेको एक सय ४१ रनको लक्ष्य पछ्याएको जनकपुरले अन्तिम बलमा पाँच विकेट गुमाउँदै भेट्टायो ।

जनकपुरका लागि चाडिविकले ५५ बलमा पाँच चौका र चार छक्का मद्तमा अविजित रहँदै सर्वाधिक ६९ रनको योगदान दिए ।  यसैगरी कप्तान ट्रेभोन ग्रिफिथले २५ सराफुद्दिन असरफ २३ र आदिल अन्सारीले  अविजित १० रन जोडे ।

पाँचौ विकेटका लागि चाडविक र सराफुद्दिनले ६२ रनको साझेदारी गर्दै टोलीको इङिगलाई उकासेका थिए ।

विराटनगरका लागि हुसेन टलट,नन्दन यादव र रिजन ढकालले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको विराटनगरले १९.५ ओभरमा  सबै विकेट गुमाउँदै एक सय ४० रनको योगफल तयार पारेको थियो ।  

विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ३८ रनको योगदान दिए । यसैगरी रोहितकुमार पौडेलले ३२,हुसेन टलटले २८ अर्जुन साउदले १८ र विवेक यादवले १० रन जोडे । तेस्रो विकेटका लागि रोहित र सिकन्दरले ४२ रनको साझेदारी गरेका थिए ।

जनकपुरका लागि ललितले पाँच,आदिल अन्सारी र केस्रिक विलियम्सले समान दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

यस जितसँगै जनकपुरले दुई खेलमा चार अंक जोडेको छ । जनकपुरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पाँच विकेटले पराजित गरेको थियो।

विराटनगरको भने यो लगातार दोस्रो हार हो । विराटनगर पहिलो खेलमा लुम्बिनी अलस्टार्ससँग तीन रनले पराजित भएको थियो ।

सोमबार नै सम्पन्न पहिलो खेलमा फार वेस्ट युनाइटेडले काठमाडौं नाइट्सलाई चार विकेटले पराजित गरेको थियो ।