टेस्ट

ग्रीनसामू दक्षिण अफ्रिका निरिह

मेलबर्न । क्यामरुन ग्रीनको उत्कृष्ट बलिङप्रेरित अस्ट्रेलियाले दोस्रो टेस्टको पहिलो इनिङमा दक्षिण अफ्रिकालाई एक सय ८९ रनमै सिमित पारेको छ ।
पहिलो दिन समाप्तीमा अस्ट्रेलिया ४५–१ को अवस्थामा छ । पहिलो इनिडङमा एक सय ४४ रनले पछि छ ।

अस्ट्रेलियाका लागि डेविड वार्नर ५१ बलमा तीन चौका मद्दतमा अविजित ३२ तथा मानुर्स लाबुसेन अविजित पाँच रन बनाएर खेलिरहेका छन् ।

यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ६८.४ ओभर मात्र ब्याटिङ गर्न सकेको थियो ।

दक्षिण अफ्रिकाका लागि मार्को जेन्सनले एक सय ३६ बलमा १० चौका मद्दतमा सर्वाधिक ५९ रनको योगदान दिए ।

यसैगरी कायल भेरानेले ९९ बलमा तीन चौका मद्दतमा ५२ र कप्तान डिन एल्गरले २६ रन जोडे ।  ६७–५ को कमजोर स्थितिबाट जेन्सन र भेरानेले छैटौं विकेटका लागि एक सय १२ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए । 

अस्ट्रेलियाका लागि ग्रीनले पाँच विकेट लिए । टेस्ट क्रिकेटमा ग्रीनले पहिलो पटक पाँच विकेट लिएका हुन् । यसैगरी मिचेल स्टार्कले दुई तथा प्याट कमिङ्स र स्टक बोल्यान्डले समान एक विकेट लिए ।

दक्षिण अफ्रिकाका लागि कागिरो रबाडाले एक विकेट लिए । यो टेस्ट जित्दै अस्ट्रेलिया तीन टेस्टको श्रृंखला एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ ।

दक्षिण अफ्रिका पनि अस्ट्रेलियालाई स्तब्ध पार्दै श्रंखला बराबरी गर्ने लक्ष्यमा छ । पहिलो टेस्टमा अस्ट्रेलिया ६ विकेटले विजयी भएको थियो ।