क्यान

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरको राजिनामा

काठमाडौं । लगातारको खराब प्रदर्शनपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले आजैबाट लागु हुने गरि राजिनामा दिएका छन् ।

तत्कालिन प्रशिक्षक पुबुदु दसानायकेले राजिनामा दिएपछि साउन २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले प्रभावकरलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानले प्रभाकरको राजिनामा स्विकृत गरिएको जनाएको छ । 

तर प्रभाकरको प्रशिक्षणमा नेपालले हालै नामिबियमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग टु मा चार मध्ये तीन खेल हारेको थियो । नेपालले स्कटल्यान्डसँग दुवै खेल हारेको थियो भने नामिबियासँग एक खेल हारेको थियो । नामिबियाविरुद्धको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

 नामिबिया भ्रमणमा अंक जोड्दै नेपाल विश्वकप क्रिकेट लिग टु अंक तालिकाको शीर्ष तीनको सम्भावना कायम राख्न चाहन्थ्यो । 

तर सो हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो । सात राष्ट्रमध्ये २४ खेलमा मात्र १८ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । शीर्ष स्थानको स्कटल्यान्डको ३२ खेलमा ४६ अंक छ भने दोस्रो स्थानको ओमानको ३६ खेलमा ४४ अंक छ । त्यस्तै तेस्रो स्थानको नामिबियाको ३० खेलमा ३७, चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ र पाँचौ स्थानको युएईको २६ खेलमा २७ अंक छ । सातौं स्थानको पपुवा न्युगिनीको २८ खेलमा ५ अंक छ ।

प्रभावकरको प्रशिक्षणमा नेपालले सेप्टेम्बर–अक्टोबरमा केन्याविरुद्धको ट्वान्टी२० र एक दिवसीय शृंखला जितेको थियो ।त्यस्तै गत महिना घरेलु मैदानमा सम्पन्न युएईविरुद्धको एक दिवसीय शृंखला पनि नेपालले जितेको थियो ।