नेपाली क्रिकेट

सुखद सुरुआतको लक्ष्यमा नेपाल

काठमाडौं । तीन एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा आज युएईको सामना गर्दा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ । 

नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको शृंखलाका लागि डिसेम्बरमा नामिबियाको भ्रमण गर्दैैैछ । सो शृंखलामा नेपालले नामिबिया र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । 

त्यसैले युएईविरुद्धको शृंखलालाई नेपालले नामिबिया भ्रमण अघि अभ्यासको रुपमा लिएको छ । 

लिग टु मा २० खेलमा १७ अंक जोडेको नेपाल छैटौैं स्थानमा छ भने नामिबिया २२ खेलमा २६ अंकसहित पाँचौ स्थानमा छ । स्कटल्यान्ड भने २८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा छ । चौथो स्थानको युएईको २६ खेलमा २७ अंक छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले युएईविरुद्ध शृंखला आफ्ना लागि चुनौतीभन्दा पनि अवसर भएको बताएका छन् ।

उपकप्तान रोहितलाई शुक्रबार मात्र क्यानले कप्तानमा नियुक्त गरेको थियो । नेपालले आजबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईविरुद्धको तीन एक दिवसीय खेलको शृंखला खेल्दैछ । खेल नौ बजेबाट सुरु हुनेछ ।

‘यो मेरा लागि चुनौती भन्दा पनि एउटा सुनौलो अवसर  हो,’ रोहितले भने, ‘घरेलु मैदानमा समर्थकको राम्रो साथमा नतिजा पनि राम्रो ल्याउने लक्ष्यमा छु । युएईविरुद्धको शृंखलाका लागि हामी पुर्णरुपमा तयार छौ । नामिबिया भ्रमण अघि हाम्रा लागि टोली निर्माणको यो राम्रो अवसर हो ।’