नवौं राष्ट्रिय खेलकुद

लुम्बिनीको जित

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि एक सय चार रनको फराकिलो जित निकालेको छ ।

पोखरा क्रिकेट रंगशालामा लुम्बिनीले प्रस्तुत गरेको एक सय २८ रनको लक्ष्य पछ्याएको कर्णाली ८.३ ओभरमा मात्र २३ रनमा सीमित भयो । कर्णालीका कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

लुम्बिनीबाट मधु डिसीले चार, कृतिका मरासेनीले दुई र सुस्मिता भुसालले एक विकेट लिइन ।  

यसअघि टस जितेर ब्याटिङका लागि आएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २७ रनको योगफल खडा ग¥यो । लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले ३१,कप्तान सरस्वती जिएमले ३०,सुस्मिता बजगाई र मधु डिसीले समान १२ रन जोडे ।

कर्णालीकी अञ्जु गुरुङले दुई र एन्जिला क्षेत्रीले एक विकेट लिइन । 

समूह ‘बी’ मा नेपाल पुलिस दुई खेलमा चार अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । दोस्रो स्थानको लुम्बिनीको तीन अंक छ  र तेस्रो स्थानको प्रदेश एकको एक अंक छ । कर्णाली भने अंकविहिन छ ।