नेपाली क्रिकेट

टस जितेर नेपाल ब्याटिङमा

ह्युस्टन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम संयुक्त राज्य अमेरिका (युएसए) विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङको निर्णय गर्दै घरेलु टिमलाई फिल्डिङको निम्तो दिएका हुन् ।

नेपाली टिममा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख फर्किएका छन् । कुशल र आसिफ यसअघि ओमानविरुद्धको पहिलो खेलमा चोटका कारण टिम बाहिर थिए ।

तर, दोस्रो खेलमा भने उनीहरु दुबैजना फर्किएका छन् । यसअघि पहिलो खेलमा दुई ओपनरको स्थानमा सुवास खकुरेल र सुनिल धमला खेलेका थिए ।

नेपाल शृंखलाको पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो ।

यस्तै, हाल लयमा देखिएको अमेरिकाले शृंखलाको पहिलो खेलमा ओमानलाई एक सय १४ रनले पराजित गरेको थियो ।

नेपालले जेठ ३१ मा पुनः ओमान र असार एक गते अमेरिकाविरुद्ध खेल्ने तालिका छ ।

लिग २ को छैटौं स्थानमा रहेको नेपालले १३ खेलबाट १२ अंक जोडेको छ । यस्तै, तालिकाको चौथो स्थानमा रहेको अमेरिकाले २१ खेलबाट २० अंक जोडेको छ ।