प्याट्रिओट्स कप

प्याट्रिओट्स कपः ब्लु बर्ड र एपेक्सको जित

काठमाडौं । प्याट्रिओट्स कप वार्षिक अन्तर कलेज ट्वान्टी २० प्रतियोगितामा सोमबार ब्लु बर्ड कलेज र एपेक्स कलेजले जित निकालेको छन् ।

सोमबारको पहिलो खेलमा ब्लु बर्डले गोल्डेनगेट इन्टरनेशनल कलेजलाई ९ विकेटले पराजित गर्दा एपेकसले मोर्गन कलेजमाथि ३० रनको जित निकाल्यो ।

पहिलो खेलमा गोल्डेनगेट कलेजले दिएको ९७ रनको लक्ष्य ब्लु बर्डले १२.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

ब्लु बर्डको जितमा सचिन लेखीले ६० रन बनाउदा दुर्गेश क्षेत्रीले १७ रन जोडे ।

गोल्डेनगेटका आशुतोष घिरैयाले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको गोल्डेनगेटले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९६ रनको योगफल तयार गरेको थियो ।

गोल्डेनगेटका आशुतोषले २७ रन बनाउदा रिजन ढकालले १७ र विश्वास श्रेष्ठले १४ रन जोडेका थिए ।

गोल्डेनगेटका सस्तैमा समेट्न ब्लु बर्डका विपिन आचार्य र सुवास खत्रीले समान दुई विकेट लिँदा तिलक भण्डारी र दुर्गेश श्रेत्रीले एक एक विकेट लिए ।

सोमबारको दोस्रो खेलमा एपेक्सले दिएको एक सय ३५ रनको लक्ष्य पछ्याएको मोर्गन कलेज निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ९ रनमात्र बनाउन सक्यो । पवन सिग्देलले ३४, राजकुमार श्रेष्ठले २६ र दीनेश सुवेदीले ११ रन बनाए ।

एपेक्सका मोहन सिंहले चार, शशांक अग्रवालले तीन र हरिश बाबुले दुई विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङमा निम्त्याइएको एपेक्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ३४ रनको योगफल खडा गरेको थियो ।

एपेक्सका खगेन्द्र समतले २७, शशांक अग्रवालले २१ र सागर श्रेत्रीले २२ रन बनाएका थिए ।

मोर्गन कलेजका सञ्जिव मल्लले तीन विकेट लिँदा अफजल अली, दीपेन्द्र रावत र दीपेन्द्र पण्डितले समान दुई विकेट लिएका थिए ।