चेस

रौतहटका रुपेश बने च्याम्पियन

काठमाडौं । नेपाल बुद्धिचाल संघका पूर्व सहअध्यक्ष सान्तेषमान सिंह प्रधानस्मृति खुल्ला फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा रौतहटका फिडेमास्टर रुपेश जैसवाल च्याम्पियन बनेका छन् ।

रुपेशले ९ चरणको खेलमा ८ अंक प्राप्त गरेका थिए । अन्तिम खेलमा अर्का फिडेमास्टर क्षितिज भण्डारीलाई सडेन डेथ टाइब्रेकमा हराएका थिए । उनले आकर्षक ट्रफीसहित नगद ५१ हजार एकसय हात पारे ।

त्यसै गरी एसियन एमेच्योर च्याम्प्यिन हेटौडाका कृष्ण थापा साढे ७ अंकका साथ दोश्रो भएका छन् । कृष्णले नवौं खेलमा लुभु ललितपुरका युवा खेलाडी सुरोज महर्जनलाई माथ गरेका थिए । उनले नगद ३० हजार तीन सय प्राप्त गरे ।

ललितपुर स्पोर्टस क्लबद्धारा आयोजित प्रतियोगितामा फिडेमास्टरद्वय क्षितिज भण्डारी तेश्रो भए । उनले नगद २० हजार दुई सय जिते । त्यस्तै, दमक झापाका राजन सुवेदी चौथौं, ललितपुरका रत्न व्यन्जनकार पाँचौं, फिडेमास्टर मनिष हमाल छैटौं, सुरोज महर्जन सातौं, सजिन महर्जन आठौं, बद्रिलाल नेपाली नवौं र सुर्यकिरण साकोस भक्तपुरका युवा खेलाडी निकेन कुसाथा दशौं स्थानमा रहे ।

चारदिने प्रतियोगितामा सुरज सिंह, ताप्लेजुङ्गका हरि सुव्वा, धनुषाका सुशील चौधरी, बुटवलका शिखर रेग्मी र काभ्रेका खोमप्रसाद तिमल्सिना क्रमशः उत्कृष्ठ एघारौंदैखि पन्ध्रौं भए । उनीहरुले जनही नगद पाँच हजार प्राप्त गरे ।

त्यसैगरी महिलातर्फ विनिता कपाली प्रथम, दमककी पुनम प्रसाईं द्धितीय र सिन्दिरा जोशी तृतीय भइन भने यु१६ मा भक्तपुरका मिराज गांसी प्रथम, सानेपाका लक्ष्य मोर दोश्रा र भक्तपुरकै रोनिक बासुकला तेश्रो रहे ।

स्वीस लिग ९ चरणको खेल भएको प्रतियोगितामा भेट्रानतर्फ पूर्वनेपाल च्याम्पियन नविन तण्डुकार, रेटिङ्ग समुहमा १८०० मुनी माउण्ट एभरेष्ट चेस क्लबका धिरेन राई, १६०० मुनी धरानका विनय राई र १४०० मुनी कैलालीका दिपक भट्ट उत्कृष्ठ रहे । उनीहरुले जनही नगद ४ हजार प्राप्त गरे ।

त्यस्तै अनरेटेडतर्फ हेमराज भण्डारी प्रथम, दोलखाका कविन्द्र सिवाकोटी दोश्रा र साँखुका सूर्यनारायण अवाले तेश्रा भए । उनीहरुले क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजार प्राप्त गरे भने कंचनपुरका भीमदत्त पाण्डे अनुशासित खेलाडी बनेर नगद ३ हजार जित्न सफल रहे ।

विजयी तथा सहभागी खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा एक समारोहबीच प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा माननीय जीवनराम श्रेष्ठ, अतिथि साहिलमान सिं प्रधान, नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतमलगायतले ट्रफि, मेडल, प्रमाण पत्र, नगद पुरस्कार वितरण गरे ।