नेपाली क्रिकेट

नेपालका लागि कठिन नतिजाः दासानायके

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटमा तेस्रो भएपछि नेपाली क्रिकेट टोलीमा मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपालीका ओमानको नतिजा निकै कठिन भएको बताएका छन् । छनोटपछि शुक्रबार स्वदेश फर्किएको नेपाली टोलीका प्रशिक्षक दासानायकेले यस्तो बताएका हुन् ।

‘सबैका लागि कठिन नतिजा थियो । हामीले छनोटको एक खेलमा राम्रो गर्न सकेनौं । युएईले निकै राम्रो खेल्यो । उनीहरुले सुरुदेखि नै आक्रामक खेल्दै हामीलाई दबाबमा राखे । म टोलीको राम्रो प्रदर्शन गर्यो तर छनोटको फर्म्याटअनुसार हामीलाई कुनै गल्ती गर्ने छुट छैन । हामीले बलिङ र फिल्डिङमा राम्रो गर्यौं । तर, ब्याटिङमा अझै केही सुधार आवश्यक छ । टोलीमा युवा प्रतिभा राम्रो छ,’ पुबुदुले भने, ‘उनीहरुको क्षमतामा अझ सुधार ल्याउन यस्ता क्रिकेट अझै धेरै खेल्न आवश्यक छ । हामीसँग क्षमता भए पनि सही समयमा त्यसलाई देखाउन सकेनौं । हामी यस वर्षको ट्वान्टी २० विश्वकपमा पुग्न सकेनौं तर अर्को वर्षको विश्वकपका लागि अहिलेदेखि नै राम्रो ट्वान्टी २० टोली बनाउन आवश्यक छ ।’

उनले एकदिवसीय मान्यतालाई कायम राख्न चुनौतीपूर्ण रहेको बताए ।

‘एकदिवसीय मान्यता कायम राख्नु निकै चुनौतीपूर्ण छ । मान्यताका लागि हुने छनोटमा सहभागी हुने सबै टोलीले आफ्नो उत्कृष्ट दिने हुँदा यो अझ मुश्किल देखिन्छ,’ उनले भने, ‘अहिले युएई निकै राम्रो फर्ममा छ । तर, म हाम्रो टोली एकदिवसीय छनोटको शीर्ष तीनमा रहनेमा विश्वस्त छु ।’