इन्डियन प्रिमियर लिग

सन्दीप र यशस्वी चम्किदा राजस्थानले मुम्बईलाई हरायो

काठमाडौं । यशस्वी जैसवाल तथा सन्दीप शर्माको सानदार प्रदर्शन प्रेरित राजस्थान रोयलले इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईको जितमा यशस्वीले सतकीय इनिङ्स खेल्दा सन्दीपले पाँच विकेट लिएका हुन् ।

आठ मध्ये सात खेल जितेको राजस्थान १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । सात खेलबाट १० अंक जोडेका कोलकत्ता र हैदराबाद क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । आठ खेल खेलेको मुम्बई ६ अंकसहित तालिकाको सातौं स्थानमा छ । मुम्बईको पाचौँ हार हो ।

आइपिएलको ३८औं खेलमा मुम्बईले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर एक सय ८० रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा राजस्थानले १८.४ ओभरमा एक विकेट गुमाएर एक सय ८३ रन बनाएको हो ।

जैसवालले ६० बलमा ९ चौका र ७ छक्कासहित अविजित एक सय ४ रन बनाएका हुन् । जस बटलरले ३५ र कप्तान सन्जु सामसनले ३८ रनको योगदान गरे । पहिलो विकेटको लागि जैसवाल र बटलरबीच ७४ रनको साझेदारी भएको थियो । सात बलर प्रयोग गरेको मुम्बईको लागि एक मात्रै विकेट पियुस चावलाले लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईको लागि तिलक बर्माले ४५ बलमा सर्वाधिक ६५ रन बनाएका हुन् । नेहाल वडेराले ४९, मोहम्मद नाबीले २३ रनको योगदान गरे । मुम्बईको शीर्षक्रम र तल्लो क्रमलाई राजस्थानका बलरले चल्नै दिएनन् ।

राजस्थानका सन्दीप शर्माले चार ओभरमा १८ रनसहित पाँच विकेट लिएका थिए । ट्रेन्ट बोल्डले दुई तथा आभेस खान र युजभेन्द्र चहलले समान एक विकेट हात पारे ।