गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

गौतमबुद्ध क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुन्छः प्रधानमन्त्री दाहाल

चितवन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताएका  छन् ।

बागमती प्रदेश खेलकुद परिषदको आयोजनमा आइतबारदेखि सुरु  प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रधानमन्त्री दाहालले रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताएका हुन् ।

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माण कार्यमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘निर्माणकार्य द्रूत गतिमा अगाडि बढ्नेछ । यसका निम्ति आगामी वर्षको बजेटमा पर्याप्त स्रोत सुनिश्चित गरिने व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।’

खेलकुदमा नयाँ अवसर सिर्जना भएसँगै युवामा शारीरिक एवं मानसिक स्फूर्ति, सामाजिक जीवनका बहुआयमिक क्षेत्रमा विकास गर्नुका साथै चुनौतीपूर्ण परिस्थितिमा रहेको युवा पलायन रोक्नसमेत मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले राष्ट्रिय, प्रदेशस्तरीय एवं स्थानीयस्तरमा आयोजना हुने प्रतियोगिताको बहुआयमिक महत्त्व रहने बताए ।

अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा विभिन्न नौ खेल समावेश छन् । प्रतिस्पर्धा सोमबारदेखि सुरु हुनेछ ।

उद्घाटनका अवसरमा कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई सम्मान गरिएको थियो । प्रतियोगिता बैशाख १ गतेसम्म हुनेछ  ।