त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

उपाधिका लागि नेपाल र पिएनजी भिड्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको उपाधिका लागि बुधबार पपुवा न्युगिनी (पिएनजी) को सामना गर्दैछ ।

खेल हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ ।

लिग चरणबाट नेपाल शीर्ष पिएनजी दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।

हङकङसँगको खेल वर्षाका कारण विना नतिजा टुङ्गिदा दोस्रो खेलमा नेपालले पिएनजीलाई ८५ रनले हराएको थियो । पिएनजीले हङकङलाई १० विकेटले पराजित गरेको थियो ।  

रोहितकुमार पौडेलेको कप्तानमा रहेको नेपाललाई कुशल भुर्तेल, सन्दीप जोरा, विवेक यादव, प्रतिश जिसी जस्ता खेलाडीको साथ रहनेछ ।  

कुशलले पिएनजीविरुद्ध ५९ रन बनाउनुका साथै चार विकेट लिएका थिए । यसैगरी सन्दीपले ५६ रन बनाएका थिए ।

असाद भालाको कप्तानीमा रहने पिएनजी सेसे बाउ, टोनी उरा, हिरी हिरी, काबुआ मोरिया जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ । हङकङविरुद्ध बाउले ६१ र उराले ५१ रन बनाएका थिए ।

हालसम्म नेपाल र पपुवा न्युगिनीबीच पाँच अन्त्र्राष्ट्रिय ट्वान्टी २० खेल भएका छन् । जसमा नेपाललले चार र पिएनजीले एक जित निकालेका छन् ।