आइसिसी यु-१९ एकदिवसीय विश्वकप

भारतविरुद्ध नेपालको राम्रो सुरुआत

काठमाडौं । नेपालले आइसिसी यु-१९ एकदिवसीय विश्वकपको सुपर सिक्समा भारतविरुद्ध राम्रो सुरुआत गरेको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउँ ओभलमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले शीर्ष क्रमका तीन ब्याटरलाई आउट गरेको छ । २० ओभर सकिँदा भारतले मात्र ९७ रन बनाएको छ ।

भारतका ओपनर आदर्श सिंह १८ बलमा ४ चौक्काको मद्धतमा २१ रन बनाउँदै गुल्सन झाको शिकार बने । त्यस्तै अर्का ओपनर आर्शिन कुल्कर्नीलाई आकाश चन्दले पेमिलियन फर्काए । आर्शिनले ३० बलमा २ चौक्काको मद्धतमा मात्र १८ रन बनाए । त्यस्तै तेस्रो नम्बरमा आएका प्रियांशु मोलिया ३६ बलमा १ चौक्कासहित १९ रन बनाउँदै दीपक डुम्रेबाट रनआउट भए ।

अहिले क्रिजमा कप्तान उदय सहरान र सचीन दास छन् । उदयले ११ रन बनाइसकेका छन् भने सचीनले १९ रन जोडेका छन् ।

नेपाल  सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । नेपाल सुपर  सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपाल भारतलाई हराउँदै प्रतियोगिताको सुखद् अन्त्य गर्ने सोचमा छ ।

उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपाललाई हराए भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने सम्भावना बलियो छ ।

विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ । दुवै खेलमा नेपालले पराजित भएको छ । नेपाल सन् २००० मा ८ र २०१६ मा ७ विकेटले पराजित भएको थियो ।