लिटल फ्लावर प्रिमियर लिग

एलपिएलः आयोजक लिटल फ्लावरको विजयी सुरुआत

 धनगढी  । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुआतत गरेको छ।

लिटल फ्लावरले उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) लाई ८४ रनले हराएको हो ।

लिटल फ्लावरले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याएको एसपिए १६ ओभरमा  ५१ रनमा समेटियो। एसपिएका लागि आशिष लुहारले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लिटल फ्लावरका लागि विपिन खत्रीले तीन तथा बसिर अहमद, कौशल रुपाखेती र सचिन भट्टले समान विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको लिटल फ्लावरले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३५ रनको योगफल तयार पारेको थियो ।

लिटल फ्लावरका लागि  कप्तान कृष्ण कार्कीले  सर्वाधिक ६५ रनको योगदान गरे। यसैगरी बसिर अहमदले ३० रन  बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

एसपिएका लागि  विरेन्द्र चन्द र प्रकाश जैसीले समान तीन तथा खगेन्द्र कुँवरले दुई  विकेट लिए।

प्रतियोगिता उद्घाटन गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एलपिएलजस्ता मोफसलमा भइरहेका प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए । सुदूरपश्चिममा क्रिकेटमा सम्भावना भएका खेलाडीहरु धेरै भए पनि पूर्वाधारको अभावले खेल क्षेत्रको विकास हुन नसकेको उनको भनाई थियो।

खेलको विकासका लागि राज्यले पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिँदै उनले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउन सरकारलाई आग्रह गरे।

आयोजक लिटल फ्लावर स्पोर्टस क्लबअध्यक्ष रामचन्द्र शाहीले मोसफलबाट क्रिकेटको विकास गर्ने उद्देश्यले विगत आठ वर्षदेखि एलपिएल सञ्चालन गरिरहेको बताए। प्रतियोगिता विद्यार्थीलाई आफ्नो प्रतिभा देखाउन अवसर भएको र यसले सुदूरपश्चिममा क्रिकेटको विकासमा टेवा पु¥याउँदै आएको उनले बताए।

प्रतियोगिताको विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका १६ टोलीको सहभागिता छ।