तार्केश्वर मेयर रनिङ शिल्ड

तार्केश्वर मेयर रनिङ शिल्डः टेबल टेनिसमा श्रृजना ज्ञान सागरको क्लिन स्विप

सांकेतिक तस्बिर

काठमाडौं ।  श्रृजना ज्ञान सागरले दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत टेबल टेनिसमा आइतबार ‘क्लिन स्विप’ गरेको छ । तीन स्वर्णका लागि भएको प्रतिस्पर्धामा तीनै स्वर्ण श्रृजना ज्ञान सागरले जित्यो ।

मनमैजुस्थित एन्जल्स हार्टमा भएको ब्वाइज फाइनलमा सन्तोष थापाले ग्रिन हिल्सका रोहित भण्डारीलाई ११-५, ११-४, ११-६ को सोझो सेटमा पराजित गरे ।

तार्केश्वर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको गर्ल्स सिंगल्स फाइनलमा विपिना थापाले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) की रक्षा थापालाई ११-२, ११-४ ,११-७ ले हराइन् ।

मिक्स डबल्समा कुशल श्रेष्ठ र सुप्रिया बोगटीको जोडीले ग्रिन हिल्सका जिमाल गुरुङ र आकृति रिमालको जोडीलाई फाइनलमा ११-४, ११-४ र ११-५ को सोझो सेटमा स्तब्ध पार्दै शीर्ष स्थान हात पारे ।

बास्केटबलमा एलएनएको दोहोरो जित 
एलएनएले जुनियर ब्वाइज बास्केटबलमा दोहोरो जित निकालेको छ ।

मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले रोजमेरीलाई २६-१५ ले पराजित गर्यो । एलएनएको जितमा सर्गम थापाले १२ अंक योगदान गरे । मनीष केसीको  आठ अंक सहयोगमा एलएनएले मानसिंह धर्म माविलाई २५-१३ ले हरायो ।

जुनियर ब्वाइजमै एन्जल्स हार्टले मानसिंहलाई २३-१५, सिद्धार्थले एन्जल्स हार्टलाई १८-११ र मेघा पब्लिक स्कुललाई पनि १८-११ तथा पद्मचक्रले एन्जल्स हार्टलाई २१-१२ ले पाखा लगाए ।

गर्ल्समा एलएनएले स्प्रिङ भ्यालीलाई २९-२०, एन्जल्स हार्टले नर्थ प्वाइन्टलाई २१-१२, मानसिंहले एन्जल्स हार्टलाई २०-१२ र ल्यान्डमार्कले प्रारम्भ वर्ल्डलाई २५-१७ ले स्तब्ध बनाए ।