नेपाली क्रिकेट

सन्दीप र दिपेन्द्रले एसिसी इमर्जिङ कप नखेल्ने

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्को साताबाट सुरु हुने एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलेर स्वदेश पर्किएपछि कप्तान रोहितकुमार पौडेलले सन्दीप र दिप्रेन्ट इमर्जिङ कप खेल्ने टोलीमा नहुने बताएका हुन् । रोहितले अरु खेलाडीलाई अवसर दिने बताए ।

उनीहरुले जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल ट्वान्टी-२० क्यानाडामा सहभागी हुन जाने भएकोले इमर्जिङ कप नखेल्ने भएका हुन् ।

पहिलो पटक विदेशी लिग खेल्न लागेका दीपेन्द्रलाई मोन्ट्रेल टाइगर्सले ड्राफ्टमार्फत अनुबन्ध गरेको हो । यसअघि दुई पटक यो प्रतियोगितामा सहभागिता जनाइ सकेका सन्दीपले यस पटक सर्रे जागुअरबाट खेल्नेछन् ।

इमर्जिङ कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ ।

नेपालले एसिसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमानले इमर्जिङ कप खेल्दै छन् ।

इमर्जिङ कपको समूह ‘बी’ मा नेपाल, युएई, पाकिस्तान र भारत छन् । त्यस्तै समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् ।

प्रतियोगितामा नेपाल, युएई र ओमान बाहेक अन्य देशका ‘ए’ टोलीले सहभागिता जनाउने छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छन् ।

नेपालले जुलाई १४ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले  जुलाई १७ मा भारत तथा  १९ जुलाई १९मा युएईको सामना गर्नेछ ।

नेपालले केही दिनमा इमर्जिङ टिम्सको लागि टोली घोषणा गर्नेछ ।