रोहितकुमार पौडेल

राम्रो नतिजा ल्याउन सबै विभागमा उत्कृष्ट हुनुपर्छः कप्तान रोहित

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो नतिजा ल्याउनका लागि ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा उत्कृष्ट हुनुपर्ने बताएका छन् ।

आइसिसी एकदिवसीय विश्वकप छनोट (ग्लाेवल क्वालिफायर) खेलेर स्वदेश फर्किएपछि विमान स्थानमा पत्रकारहरुसँग कुराकानी गर्दै रोहितले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘सोचे जस्तो नतिजा आएन । तर राम्रा टोलीसँग खेल्न पाउँदा धेरै सिक्न पाएको महसुस गरेको छु,’ रोहितले भने,‘हामीले उनीहरुलाई राम्रो प्रतिस्पर्धा दिएका थियौँ । यी टोलीहरुलाई जित्न सहज छैन। हामी सबै विभागमा राम्रो हुनुपर्छ, अनि मात्र हामीले राम्रो नतिजा ल्याउन सक्छौँ । हामी एकदिन ब्याटिङमा चुक्यौँ । अर्को दिन बलिङमा । अब आउने इमर्जिङ कपमा कुरामा ध्यान पुर्याउनु पर्छ । ’

यसैगरी कप्तान रोहितले नियमित रूपमा टेस्ट टोलीसँग खेल्ने अवसर पाएमा उनीहरुलाई हराउन सक्ने बताए । ‘यदी नियमित रूपमा टेस्ट टोलीसँग खेल्ने अवसर पायौं भने हामी पनि हामी हराउन सक्छौँ,’ रोहितले भने ।  

नेपालले जिम्बावेमा भएको ग्लोबर क्वालिफायरमा सोचे अनुरुपको प्रदर्शन भने गर्न सकेन । समूह ‘ए’मा रहेको नेपालले जिम्बावेसँग ८ विकेट,  वेस्ट इन्डिजसँग १ सय १ रन र नेदरल्यान्ड्ससँग ७ विकेटको पराजय ब्यहोरेको नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो ।

बाहिरिएको नेपालले प्लेअफमा युएईलाई ३ विकेटले पराजित गरेको नेपालले आफ्नो अन्तिम खेलमा आयरल्यान्डविरुद्ध २ वकेटको पराजय ब्यहोरेको थियो ।