एसिसी प्रिमियर कप

कुवेत सेमिफाइनलमा

काठमाडौं। हङकङलाई ३० रनले हराउँदै कुवेत एसिसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कुवेतले समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

यस जितसँगै कुवेतले ४ खेलमा ६ अंक जोड्दा पराजय ब्यहोरेको हङकङ समान खेलबाट ५ अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरिएको छ ।

मुलपानी क्रिकेट मैदानमा बिहिबार सम्पन्न खेलमा कुवेतले प्रस्तुत गरेको २ सय ७३ रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित ५० ओभरमा २ सय ४२ रनमा समेटियो ।

हङकङका लागि कप्तान निजाकत खानले ९७ बलमा १ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६० रन बनाए । यसैगरी अजिज खानले ५५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४९, यासिन मुर्तजाले ४३, जिशन अलीले २४, अंशुमन रथले १३ र हरुन अर्शदले १२ रन जोडे ।

चौथो विकेटका लागि निजाकत र अजिजले ९१ रनको साझेदारी गरेका थिए ।

कुवेतका लागि शाहरुख क्युदुसले ३, यासिन पटेलले २ तथा सैयद मोनिब र अद्नान इद्रिसले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रनको योगफल तयार पारेको थियो  ।

कुवेतका लागि शिराज खानले ९५ बलमा ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६७ रनको योगदान गरे । यसैगरी उस्मान पटेल ४८ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५०,आद्नान इद्रिसले ४५, कप्तान मोहम्मद अस्लाम ३२, सैयद मोनिबले ३१ र बिलाल अविजित १७ रन बनाए ।

छैटौं विकेटका लागि शिराज र उस्मानले ८४ रनको साझेदारी गरेका थिए ।

हङकङका लागि एहसान खानले ३ तथा आयुश शुक्ला, हरुन अर्शद, अजिज खान, यासिम मुर्तजा र मोहम्मद गजानफरले समान १ विकेट लिए ।

कुवेतले शनिबार हुने पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपालसँग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘ए’को उपविजेता ओमान र समूह ‘बी’को विजेता युएई प्रतिस्पर्धा गर्नेछन् ।