ललितपुर । जावलाखेलमा जारी ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो । ।
रोमान्चक खेलमा एपिएफले सुरुआती २ सेट २५-२१ र २५-२२ ले जितेको थियो । त्यसपछिका २ सेट आर्मीले २५-१२ र २६-२४ ले जितेपछि खेल पाँचौं तथा अन्तिम सेटमा पुगेको थियो । पाँचौ सेट एपीएफले १५(१२ ले आफ्नो पक्षमा पार्यो ।
यस्तै पहिलो सेमिफाइनलमा पुलिस क्लबले न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-० को सेटमा पराजित गरेको थियो । पुलिसले खेल २५-१६, २५-१४ र २५-१७ ले आफ्नो पक्षमा पारेको हो ।
शुक्रबार न्यु डायमन्ड र आर्मीले तेस्रो स्थानका लागि खेल्ने छन् ।
पुरुषतर्फ नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई ३-१ को सेटमा हराएको छ ।
खेल २८-२६,२५-२१,१८-२५ र २५-१८ आफ्नो पक्षमा पार्दै पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
पुरुषतर्फ नै ललितपुर महानगरपालिकाले सुर्य विनायक युथ क्लबलाई ३-० को सेटमा हरायो ।
ललितपुरले खेल २५-११,२५-१० र २५-१४ ले आफ्नो पक्षमा पारेको हो । जितसँगै ललितपुर पनि सेमिफाइनल पुगेको छ।
पुरुषतर्फ पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब तथा दोस्रो सेमिफाइनलमा पुलिस र ललितपुर महानगरपालिका भिड्ने छन् । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।
महिला तथा पुरुष दुवैतर्फको को फाइनल शनिबार हुनेछ ।