आइसिसी यु-१९ पुरुष विश्वकप एसिया छनोट

नेपालको सुखद सुरुआत

काठमाडौं । सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले युएईमा जारी आइसिसी यु-१९ पुरुष विश्वकप एसिया छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

यस जितसँगै नेपालले दुई अंक जोड्दा सिंगापुरले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

अजमानस्थित इडेन गार्डेन ओभलमा शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले प्रस्तुत गरेको दुई सय ६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले ५० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाएर एक सय ६५ रन मात्र बनाउन सक्यो ।

सिंगापुरका लागि आर्यन मोदीले एक सय बलमा दुई चौकाको मद्दतमा सर्वाधिक ५८ रन जोडे । यसैगरी सिद्धान्त श्रीकान्तले ४४, अजुन नागपल र अभ्युदय छाजेर समान १४ रन बनाए ।

नेपालका लागि हेमन्त धामी र सुवास भण्डारीले समान दुई तथा विशालविक्रम केसीले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको नेपालले निर्धारित ५० ओभरमा साता विकेट गुमाउँदै  दुई सय ६१ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि आकाश त्रिपाठीले एक सय बलमा सात चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७८ रन जोडे । यसैगरी विशालविक्रम केसीले ५४ बलमा चार चौका र दुई छक्काको मद्दतमा अविजित ६३, अर्जुन कुमालले ३७, कप्तान देव खनालले २१, दीपक बोहराले १७, सुवा भण्डारीले अविजित १२ र दीपक डुम्रेले १० रन बनाए ।

दोस्रो विकेटका लागि आकाश र अर्जुनले ९३ रनको साझेदारी गरेका थिए ।

सिंगापुरका लागि अभ्युदय छाजेर र आर्यवीर चौधरीले समान दुई तथा आदित्य भार्गव र महियु भाटियाले समान एक विकेट लिए ।