बुद्धिचाल

आरसिटी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

काठमाडौं ।  अन्नपूर्ण क्लब (आरसिटी)को ९० औं बार्षिकोत्सवको उपलक्ष्यमा बुधबारदेखि अन्नपूर्ण क्लब (आरसिटी) खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

बुधबार पहिलो र दोस्रो चरणको खेल सम्पन्न हुँदा प्रतियोगिताका शीर्ष खेलाडीहरु फिडे मास्टर रुपेश जैशवाल, क्षितिज भण्डारी, नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं, पूर्व  नेपाल च्याम्पियन सुरवीर लामा, पुण्यमान कर्माचार्य, नविन तण्डुकारले  दुवै खेलमा जित हात पर्दै दुई  अंक जोडेका छन्।

ज्याठास्थित अन्नपूर्ण  माविको हलमा संचालन भएको प्रतियोगितामा चितवनका अर्जुन घिमिरे, ललितपुरका सरोज महर्जन ,भक्तपुरका गणेशमान दुवाल, काठमाडौका सुदिप तामाङ, राजन पुरी, पुरुषोत्तम सिलवाल, भगवती प्रसाद शर्मा, जनार्दन श्रेष्ठ, दोलखाका राजिव कार्कीले पनि दुवै चरणको खेलमा सफलता हात  निकालै दुई अंक नै जोडेका छन्।

अन्नपूर्ण क्लवका अध्यक्ष सुरेशकुमार शाक्यको सभापतित्वमा भएको प्रतियोगिताको  काठमाडौं महानगरपालिका २७ नं वडा अध्यक्ष योगेशकुमार खड्गी र नेपाल बुद्धिचाल संघका अध्यक्ष बिदुर प्रसाद गौतमले चेसको गोटी चालेर  संयुक्तरूपमा  उद्घाटन गरेका थिए । 

स्विश लिग प्रणाली अनुसार नवौं चरणसम्म हुने प्रतियोगितामा ४० जिल्लाका एक सय३२ जना खेलाडीहरुको सहभागिता छ । 

प्रतियोगिता अन्तर्गत बिहिवार तेस्रो ,चौथो र पाँचौ चरणका खेलहरु हुनेछन् ।