युवा तथा खेलकुद मन्त्रालय

खेलकुद मन्त्री श्रेष्ठलाई १० बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ।

संघका अध्यक्ष देवी आचार्यको नेतृत्वमा गएको टोलीले बिहीबार युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा नेपाल पारालम्पिक कमिटी र राष्ट्रिय पारालम्पिक कमिटीको विवादले गर्दा खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन वञ्चित हुनुपरेको, पर्याप्त बजेट उपलब्ध नभएको लगायताका बुँदा उल्लेख छ।

 ह्विलचियर प्रयोगकर्ता खेलाडी तथा दर्शकहका लागि सहज आवतजावतका लागि  खेल मैदानमा ३० फिटभन्दा नबढ्ने गरी र्यापको व्यवस्था गरिदिन माग गरिएको छ।

यसैगरी अपांगता भएका महिला खेलाडीहरूको लागि चेन्जिङ रुम र महिला खेलाडीका लागि आवश्यक पर्ने स्यानिटरी प्याड आदिको व्यवस्था गर्दिन पनि संघले अनुराेध गरेकाे छ । 

मन्त्री श्रेष्ठले ज्ञापनपत्र बुझ्दै आफूले गर्न सक्ने काम गर्ने आश्वसन दिए। ‘म यो काम गर्दिन्छु त्यो काम गर्दिन्छु भनेर कसैलाई पनि झुटो आश्वासन दिन्न। त्यसैले मबाट सम्भव हुने जति काम गर्छु,’ मन्त्री श्रेष्ठले भने,‘बजेट निर्माण गर्ने बेलामा आएको छु त्यसैले सबैलाई समय दिन सकिरहेको छैन। अबको बजेटमा तपाईँहरूको संघलाई पर्याप्त  रकमकाे व्यवस्था गर्ने छु,’ उनले भने।

ज्ञापनपत्र बुझाउन अध्यक्ष आचार्यसँगै संघका महासचिव दिलीप सापकोटा, एबिलिस फाउन्डेसनका अध्यक्ष डा वीरेन्द्रराज पोखरेल र नेपाल पारालम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला लगायत पुगेका थिए।