‘एनएसजेएफ-पल्सर स्पोर्टस अवार्ड

एनएसजेफ पल्सर स्पोर्टस अवार्डसँग पुनः जोडियो केल्मी

काठमाडौं । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ-पल्सर स्पोर्टस अवार्ड २०७९’ को २०औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले कामरु ट्रेडिङ प्रालिसँगको सहप्रायोजन सम्झौतालाई पुनः निरन्तरता दिएको छ ।

माघ २८ गते होटल याक यतीमा हुने स्पोर्टस अवार्डको सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे।

कामरुका निर्देशक न्यौपानेले स्पोर्टस अवार्डसँग पुनः सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवद्र्धन कार्यमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए ।

कामरु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीबाट उत्पादित सामग्री विक्री/ वितरण गर्ने नेपालको आधिकारिक संस्था हो ।  सहप्रायोजनवापत केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोसाक उपलब्ध गराउने छ ।

पल्सर स्पोर्टस अवार्डअन्तर्गत तीन विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यसपालि सर्ट लिस्टको रुपमा वर्ष खेलाडी पुरुष र महिलाका समान ८ खेलाडी मनोनयनमा परेका छन् । सर्ट लिस्टबाट ३ खेलाडी पुनः छानिने छन् । त्यसमध्येबाट अवार्ड कार्यक्रमको दिन विजेता घोषणा हुनेछ ।

पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ । मनोनयनमा रजनी श्रेष्ठ (बडिविल्डिङ), सिक्का सुवाल श्रेष्ठ (टेबल टेनिस), विप्वललाल श्रेष्ठ (कराते), अनन्त तामाङ (फुटबल) र निरुता ठगुन्ना (भलिबल) छन् । उनीहरूका लागि इ-सेवाबाट भोटिङ भइरहेको छ ।

यसैगरी आयोजक नेपाल खेलकुद पत्रकार मञ्च तथा मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीको आधिकारिक फेसबुक पेजबाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । त्यसबाहेक नेपाल ओलम्पिक संघमा आबद्ध २७ राष्ट्रिय खेल संघका प्रमुख प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यले मत दिन पाउने छन् ।