अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता

अन्तर क्वान खुला राष्ट्रिय उसुः विपन र अस्मितालाई स्वर्ण

तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसुको छाङ छ्वानमा स्वर्ण विजेता अस्मिता श्रेष्ठ

काठमाडौं । निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । विपनले छाङ छ्वानको पुरुष तथा अस्मिताले महिलातर्फ स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा विपनले ८.५५ अंक जोडे । बुलबुले उसु क्वानका सुरेश चौधरी ८.४३ अंकसाथ दोश्रो तथा कैलाली उसु क्वानका आयुश चौधरी ८.४० अंकसाथ तेश्रो भए ।

अस्मिताले ८.३८ अंक जोडिन् । बुलबुलेकी आशा शाही ८.२१ अंकसहित दोश्रो तथा शिअ उसु क्वानकी दीपिका चौधरी ६.७० अंकसहित तेश्रो स्थान हासिल गरे ।

नेपाल उसु महासंघद्धारा आयोजित प्रतियोगिताको सान्सौंतर्फ पुरुष ४८ केजीमा शिअका रोहित गाहा मगर र काठमाडौं उसु क्वानका मिलन राई फाइनलमा पुगेका छन् । कालभैरवका सुनिल तामाङ र रामेछाप उसु क्वानका लिबन सुनुवारले तेस्रो स्थानमा रहे ।

पुरुष ५६ काठमाडौंका विशाल विष्ट र ड्रागन उसु क्वानका आशिष तामाङले फाइनलमा स्थान सुरक्षित गरे । वरियर उसु क्वानका पूर्ण तामाङ तथा किन्डर गार्डेन उसु क्वानका कृतिम श्रेष्ठ ले तेस्रो स्थान हासिल गरे ।