इङ्लिस प्रिमियर लिग

रोनाल्डोको गोलमा युनाइटेडको जित

लन्डन । स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेडले आइतबार इङलिस प्रिमियर लिगमा एभर्टनलाई २-१ ले हराएको छ ।

एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा एलेक्स आइओबीको गोलसँगै खेलको पाँचौ मिनेटमै अग्रता लिएको थियो । १५औं मिनेटमा एन्टोनीले गोल गर्दै   युनाइटेडलाई खेलमा फर्काएका थिए । 

४४औं मिनेटमा रोनाल्डोले गरेको गोल युनाइटेडको जितका लागि पर्याप्त बन्यो । जारी सिजन प्रिमियर लिगमा उनको यो पहिलो गोल हो । रोनाल्डो २९औं मिनेटमा एन्थोनी मार्सियालको स्थानमा मैदान प्रवेश गरेका थिए । यससँगै रोनाल्डोले क्लब खेलजीवनमा आफ्नो गोल संख्या सात सय पूरा गरेका छन् ।

युनाइटेड आठ खेलमा १५ अंकसहित पाँचौ स्थानमा छ । जुन चौथो स्थानको चेल्सी भन्दा मात्र एक अंक कम हो । एभर्टन भने नौ खेलमा १० अंकसहित १२औं स्थानमा छ ।

यसअघि आइतबार नै सम्पन्न खेलमा शीर्ष स्थानमा फर्कने क्रममा आर्सनलले लिभरपुलमाथि ३-२ ले हराएको थियो ।

शीर्ष स्थानको आर्सनलको नौ खेलमा २४ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको २३ र तेस्रो स्थानको टोटनहमको २० अंक छ । १०औं स्थानको लिभरपुलको भने आठ खेलमा १० अंक रहेको छ ।