यु १७ साफ

यु १७ साफः भारतलाई हराउँदै नेपाल समूह विजेता

कोलम्बो । समूह चरणको अन्तिम खेलमा भारतलाई ३-१ ले पराजित गर्दै नेपाल यु १७ पुरुष साफ च्याम्पियनसिपको समूह विजेता बनेको छ ।

श्रीलंकामा जारी प्रतियोगिताको एक खेल अगावै सेमिफाइनल पुगेको नेपालले भारतलाई हराएसँगै समूह ‘बी’ को विजेता बन्यो ।

रेसकोर्स रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन सरोज दर्लामीमगर, युनेस बुढाथोकी र सुवास बमले गोल गरे । भारतका ड्यानी मेइटिइले एक गोल गरेका थिए ।

खेलमा सुरुआती अग्रता भने भारतले बनाएको थियो । खेलको २५औं मिनेटमा ड्यानी मेइटिइले गरेको गोलबाट भारतले अग्रता बनाएको थियो ।

तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । सरोजले करिव १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट बली गोल गरेका थिए । यस्तै खेलको ४९औं मिनेटमा युनेश बुढाथोकीले नेपाललाई अग्रता दिलाएका थिए ।

यस्तै, ६७औं मिनेटमा नेपालका सुवास बमले टिमका लागि तेस्रो गोल गरे । उनले मिडबाट आएको लामो पासमा उत्कृष्ट चिप गोल गरेका थिए ।

नेपालले पहिलो खेलमा भुटानलाई २-१ ले पराजित गरेको थियो । यस्तै भारतले पनि पहिलो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो ।

समूह ‘ए’ बाट बंगलादेशले दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाइसकेको छ ।

आजै हुने श्रीलंका र माल्दिभ्सबीच समूह चरणको अन्तिम खेलले समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्ने टोलीको टुङगो लगाउने छ । नेपालले फाइनल प्रवेशका लागि  यी दुई टिमबीचको विजेतासँग खेल्नेछ । दुवै सेमिफाइनल खेल सेप्टेम्बर १२ मा हुनेछ ।