खेलाडी सरुवा

एन्टोनीसँग सम्झौता नजिक म्यानचेस्टर युनाइटेड

लन्डन । म्यानचेस्टर युनाइटेड अन्ततः लामो समयदेखि नाम जोडिँदै आएका ब्राजिलियन फरवार्ड एन्टोनीसँग सम्झौता नजिक पुगेको छ । अयाक्सका २२ वर्षीय फरवार्ड भित्र्याउन युनाइटेड करिब ८६.४ मिलियन पाउन्ड खर्चिन तयार भएसँगै सम्झौता अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

एन्टोनी अयाक्सबाटै यो सिजन युनाइटेड पुगेका मुख्य प्रशिक्षक एरिक टेन हागले सबैभन्दा धेरै चाहेका फरवार्ड हुन् । तर, अयाक्सले एन्टोनीलाई राख्न हरसम्भव प्रसास गरेको थियो । जसका कारण ट्रान्सफर विन्डो खुल्दा सुरु भएको चर्चा झण्डै बन्द हुने समयमा मात्रै यथार्थ नजिक पुगेको छ ।

ब्राजिलियन युवा फरवार्ड एन्टोनीले युनाइटेडसँग पाँच वर्षको सम्झौतामा हस्ताक्षर गर्ने टेलिग्राफले दाबी गरेको छ । त्यसो त खेलाडी सरुवाको हकमा सबैभन्दा विश्वसनीय इटालियन पत्रकार फाब्रिजियो रोमानोले युनाइटेड ८४.४ मिलियन पाउन्ड तिर्न तयार भएपछि मात्रै सम्झौता अन्तिम चरणमा पुगेको यसअघि नै बताइसकेका छन् ।