दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २-१ ले पराजित

काठमाडौं, (खेलाडी)- मिडफिल्डर तेज तामाङले नेपाली राष्ट्रिय टोलीका लािग पहिलो गोल गरेका छन् ।

दशरथ रंगशालामा जारी भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको ८७औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट  प्रहार गर्दै बललाई जाली चुमाएका तेजको यो नेपालका लागि पहिलो गोल हो ।

घरेलु फुटबलमा नेपाल पुलिस क्लबका चर्चित खेलाडी तेजले चोटका कारण विश्वकप तथा एसिया कप छनोटको दोस्रो चरणका खेलहरू गुमाएका थिए ।

त्यसअघि वैशाखमा भएको नेपाल सुपर लिगमा काठमाडौं रेजर्सलाई च्याम्प्यिन बनाउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेका तेज राष्ट्रिय टोलीका नियमित सदस्य हुन् ।

तर तेजको गोलका बावजुद नेपाल भ्रमणकारी भारतसँग सुखद नतिजा निकाल्न भने सफल भएन । भ्रमणकारी टोलीले २-१ को जित हासिल गरेको छ । 

बिहीबार भएको पहिलो खेलमा १-१ को बराबरी नतिजा निस्किएको थियो । अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा भारतलाई जित दिलाउन कप्तान सुनील क्षेत्री र फारुखले गोल गर्दै २-० को अग्रता दिलाएका थिए । तर अन्तिम समयमा तेजले गोल गर्दै पराजय अन्तर कम गरे ।