शुभकामना गोल्डकप

शुभकामना गोल्डकपको खेल तालिका सार्वजनिक

पोखरा । छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा हेमजा युनाइटेड र विरगंज भिड्ने भएका छन् ।

हेमजा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप २०७९ आमन्त्रित फुटबल प्रतियोगिता’ मा एक विदेशीसहित ८ टिम सहभागी हुनेछन् ।

बिहीबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष इन्द्र कुवरँले क्लबले प्रतियोगितालाई गोल्डकपको रुपमा अघि बढाएको बताए ।

पोखरा महानगरपालिका वडा २५ स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा ए डिभिजन, विदेशी आयोजक सहित मोफसलका टिम हरुको समेत सहभागिता रहने भएको छ ।

प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको क्लबका अध्यक्ष इन्द्र कुवँरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले  नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद तीन लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

असार चार गतेदेखी ११ गतेसम्म हुने प्रतियोगिताको तयारी निकै तिव्र रुपले अघि बढिरहेको क्लबका अध्यक्ष कुवँरले जानकारी दिए ।

प्रतियोगिता दुई वर्ष अघि गर्ने योजना बनाए पनि क्लबको आर्थिक अभावका कारण त्यो सम्भव बन्न नसकेको र कोभिड १९ को महामारीका कारण सहयोगदाता पाउन झनै कठिन भएको अध्यक्ष कुवँरले बताए ।

क्लबले फुटबल एकेडेमी संचालनमा ल्याउनु प्रतियोगिताको मुख्य उदेश्य हो । क्लबका अध्यक्ष कुवरँले प्रतियोगिता संचालनका लागि आफूहरुलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्न समेत अपिल गरेका छन् ।