एन्फा

वैशाख ९ गतेबाट सी डिभिजन लिग गर्ने सहमति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र सहभागी क्बलहरूबीच एक हप्ताभित्र तयारी खर्च उपलब्ध गराउने सहमतिपछि सहिद स्मारक सी डिभिजन लिग वैशाख ९ गतेदेखि हुने भएको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र सहभागी क्लबहरूबीच बुधबार भएको वार्तामा उपलब्ध गराउनु पर्ने तयारी खर्चको पहिलो किस्ता एक हप्ताभित्र उपलब्ध गराउने सहमति भएको एक सहभागीले खेलाडीलाई बताए ।

'तयारी खर्चको पहिलो किस्ता एक साताभित्र उपलब्ध गराउने एन्फा अध्यक्ष र लिग कमिटीका पदाधिकारीसँगको छलफलबाट निर्णय भएको छ,' ती सहभागीले भने, 'एक साताभित्र पाउनुपर्ने रकम आयो भने हामी लगातार खेल्छौं । वार्ताअनुसार पैसा नआए लिग रोकिन्छ ।'

लिगमा प्रतिस्पर्धा गर्ने १४ क्लबलाई एन्फाले तयारी खर्च उपलब्ध नगराएसँगै प्रतियोगिता स्थगित भएको छ । यद्यपि, एन्फा सचिवालयले जारी गरेको विज्ञप्तिमा प्राविधिक कारणले लिग सार्नुपरेको बताइएको थियो । प्रतियोगिता नियमावलीअनुसार  सी डिजिभन लिगमा प्रतिस्पर्धा गर्ने क्लबलाई तयारी खर्च स्वरुप ९ लाख ५० हजार रूपैयाँ तीन किस्ता गरेर एन्फाले उपलब्ध गराउनुपर्छ ।

पहिलो किस्ता लिग सुरु हुनुअघि ५ लाख, दोस्रो किस्ता लिग चलिरहँदा २ लाख ५० हजार र तेस्रो किस्ता लिग सकिएपछि २ लाख रूपैयाँ एन्फाले क्लबलाई उपलब्ध गराउनु पर्ने व्यवस्था छ । तर त्यस अनुरुप एन्फाले पहिलो किस्ताको पैसा उपलब्ध नगराएपछि क्लबहरू लिग खेल्न तयार भएका थिएनन् ।

तयारी खर्च नपाए लिग नखेल्ने भन्दै क्लबहरूले संयुक्तरूपमा चैत २८ गते (सोमबार) बिहान ज्ञापन पत्र बुझाएका थिए । सोही दिन ३ बजे भएको म्यानेजर्स मिटिङमा क्लबहरूले त्यही अडान निरन्तरता दिएपछि एन्फा लिग सार्न बाध्य बनेको थियो ।
 

*यसअघि प्रकाशित समाचारमा वैशाख ९ गते हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।