वीर गणेशमान बक्सिङ प्रतियोगिता

भुपेन्द्र र सनिल सेमिफाइनलमा

काठमाडौं । नेपाल पुलिसका भुपेन्द्र थापामगर र एपिएफका  सोनाम सार्की गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत पुरुष ६३ केजीतर्फ सेमिफाइलनमा प्रवेश गरेका छन् ।

बसन्तपुर डबलीमा मंगलबारदेखि जारी प्रतियोगिताअन्तर्गत बुधबार भएको क्‍वार्टरफाइनलमा भुपेन्द्रले मधेश प्रदेशका रावन अलीलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरे । बुधबार नै भएको क्‍वार्टरफाइनलमा गण्डकीका निश्चल गुरुङलाई हराउँदै सोनामले भुपेन्द्रसँगको भेट निश्चित गरे ।

पुरुष ६९ केजीमा पुलिसका सनिल शाहीले एपिएफका विक्रम चौधरी तथा सुदूरपश्चिम प्रदेशका भरत चन्दले कर्णालीका प्रशान्त लामालाई पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरे । भूपेन्द्र र सनिल दुवै जना १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन् ।

पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले गण्डकीका आकाश राना र प्रहरीका चन्द्रबहादुर थापाले प्रदेश १ का धर्मेन्द्र राई तथा ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले प्रदेश १ का भुगोल लिम्बु र आर्मीका इन्द्र सुनारले कर्णालीका पारस शाहीलाई निराश पार्दै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ७५ केजीमा आर्मीका दिपेश लामाले बाग्मतीका निश्चल विष्ट र मधेसका कोसिश श्रेष्ठले एपीएफका झलक रोक्का तथा ८१ केजीमा आर्मीका दीपक श्रेष्ठले एपीएफका साजन तामाङलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुष ९१ केजीमा एपीएफका रविन नेपालले मधेशका विजय राजभण्डारीलाई पाखा लगाउँदै सेमिफाइनलमा पुगे । सोही स्पर्धामा गण्डकीका किरण विकले लुम्बिनीका केशर खत्रीबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुगे ।