सहिद स्मारक ‘बी’ डिभिजन लिग

मध्यपुर विजयी

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत सोमबारको दोस्रो खेलमा मध्यपुर युथ एसोसियसनले खुमलटार युथ क्लबलाई १–० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको १७औं मिनेटमा मध्यपुरका सजिन थापामगरले निर्णायक गोल गरे ।

जितसँगै सात खेलबाट सात अंक जोडेको मध्यपुर तालिकाको १०औं स्थानमा उक्लिएको छ । यस्तै, सामान खेलबाट नौ अंक जोडेको खुमलटार तालिकाको पाँचौ स्थानमा छ ।

यसअघि आजै भएको पहिलो खेलमा सामाजिक युथ क्लबले झम्सिखेल युथ क्लबलाई १–० ले पराजित गरेको थियो ।

फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्येका शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै, पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुनेछन् ।