इङ्लिस प्रिमियर लिग

म्यानचेस्टर ‘डर्बी’ मा युनाइटेडको आक्रामण स्तर निकै लाजमर्दोः केन

लन्डन । म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रोय केनले म्यानचेस्टर ‘डर्बी’ मा युनाइटेडको आक्रामण स्तर निकै लाजमर्दो देखिएको बताएका छन् ।

सन् १९९९ मा ग्यारी नेभिल र पिटर स्माइकलसँगै ट्रिबेल जित्दाका सहकर्मी केनले इत्तिहाद रंगशालामा युनाइटेडको प्रदर्शन अस्वीकार्य रहेको बताए ।

घरेलु मैदानमा केभिन डी ब्रुयना र रियाद महारेजले दुई/दुई गोल गरेपछि सिटीले ‘डर्बी’ मा प्रभावशाली जित निश्चित गरेकाे थियाे ।

‘उनीहरुले आत्मसमर्पण गरे र कुनै पनि खेलमा आत्मसमर्पण गर्नु एक खेलाडीका लागि कदापी स्वीकार्य हुदैन,’ केनले भने, ‘मलाई थाहा छ युनाइटेडले पछिल्लो केही वर्षयता इत्तिहादमा राम्रो छाप छोडेको छ । तर, आज सिटीविरुद्ध सबै कमजोरीहरु एकसाथ देखिए ।’

जितसँगै २८ खेलबाट ६९ अंक जोडेको सिटीले दोस्रो स्थानको लिभरपुलसँग ६ अंकको अग्रता बनाएको छ । लिगमा सिटीभन्दा एक खेल कम खेलेको लिभरपुलको ६३ अंक छ ।

यस्तै, हारसँगै पाँचौ स्थानमा खस्किएको युनाइटेडले २८ खेलबाट ४७ अंक जोडेको छ ।