हरि खड्का

हरि खड्का दोषी, पाँच हजार जरिवाना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्कालाई बिहीबार दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्कालाई दोषी ठहर गर्दै पाँच हजार जरिवाना सुनाए ।

यसअघि अख्तियारले माघ १२ गते नेपाल प्रहरीमा जागिर खान शैक्षिक योग्यताको नक्कली  प्रमाणपत्र पेश गरेको भन्दै खड्काविरुद्ध मुद्दा दायर गरेको थियो ।

खड्का २०५३ सालको मंसिर १४ गते मध्य क्षेत्रीय तालिम केन्द्र चितवनबाट प्रहरी जवानमा भर्ना भएका थिए । २०५५ कात्तिक १ गते असईमा भर्ना हुँदा माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेश वाराणसीबाट आइए उत्तीर्ण गरेको प्रमाण पत्र पेश गरेका थिए । यद्यपि, खड्काले २०७२ असार २२ गते घरायसी कारण देखाएर राजीनामा दिएका थिए ।

राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता खड्का अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला विभाग प्रमुख हुन् । राष्ट्रिय टोलीबाट १३ गोल गरेका खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षक समेत हुन् ।