खेलाडी सरुवा

सेभिया म र मेरो परिवारको लागि सहि विकल्प थियोः मार्सियल

मड्रिड । एन्थोनी मार्सियलले आफूलाई बार्सिलोना र युभेन्टसले अनुबन्धित गर्ने प्रयास गरे पनि आफूले सहि विकल्पको रुपमा सेभियालाई रोजेको बताएका छन् ।

जुलेन लोपेटेगुइको टोली सेभियाले मार्सियललाई म्यानचेस्टर युनाइटेडबाट लोनमा सिजनको अन्त्यसम्मका लागि भित्र्याएको हो । फ्रान्सका २६ वर्षीय राल्फ रागनिगको प्रशिक्षणमा रहेको युनाइटेडको पहिलो रोजाइमा पर्न सघर्षरत थिए ।

रागनिकले डिसेम्बरमा युनाइटेडमा पर्याप्त समय नपाएका कारण मार्सियलले क्लब छोड्ने चाहना व्यक्त गरेको सार्वजनिक गरेका थिए । यस सिजन मार्सियलले युनाइटेडबाट एक खेलमा मात्र ९० मिनेट मैदानमा बिताएका थिए । रागनिकले प्रशिक्षण सम्हालेयता मार्सियलले आठ मिनेटमात्र खेल्न पाएका थिए ।

‘युभेन्टसले मलाई अनुबन्धित गर्ने प्रयास गरेको थियो । मैले मेरो एजेन्टलाई सेभिया मेरोलागि राम्रो विकल्प हुने बताएका थिए’, उनले भने, ‘सेभिया म र मेरो परिवारको लागि उत्कृष्ट विकल्प थियो । बार्सिलोनाले मेरो एजेन्टसँग कुरा गरेको थियो तर मैले उसलाई सेभिया मेरो प्राथमिकतामा रहेको बताएको थिए ।’