खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता

लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता फागुन २ देखि सुरु हुने

काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा ‘लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता’ फागुन २ गतेदेखि हुने भएको छ ।

बिहीबार आयोजकका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले प्रतियोगितामा पुरुषतर्फ १४ टिम तथा महिलामा पाँच टिमको सहभागिता रहने जानकारी दिए । पुरुषमा एक विदेशी टिम बंगलादेशको नेभी टिम पनि सहभागी हुने प्रबल सम्भावना रहेको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए । 

पुरुषतर्फका सहभागीलाई १४ टोलीलाई चार समूहमा विभाजन गरिएको प्रतियोगिता लिग कम नकआउट ढाँचामा चल्नेछ । यस्तै, महिलातर्फ भने राउन्ड रोविन लिग पद्धतिमा खेल हुनेछ । जसको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष÷महिला दुवैमा उपाधि जित्ने टोलीले ५० हजार तथा दोश्रोले २५ हजार नगद पुरस्कार पाउने छन् । दुवैतर्फका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

फागुन १२ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब आठ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइने छ ।

स्वर्गीय लामा बास्केटबल संघका अध्यक्ष थिए ।  राखेपको उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिवको जिम्मेवारी पनि सम्हालेका थिए ।