सहिद स्मारक ए डिभिजन लिग

थप बलियो टोली भएर एएफसी कप खेल्न जान्छौं: प्रशिक्षक कटुवाल

काठमाडौं । नेपाल पुलिस क्लबविरुद्धको जितसँगै एएफसी कपको प्रारम्भिक चरण खेल्ने निश्चित भएपछि मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवालले थप बलियो टोली बनाउने बताएका छन् ।

महाद्वीप स्तरीय प्रतियोगितामा स्थान बनाउनका लागि महत्त्वपूर्ण रहेको खेलमा मछिन्द्रले पुलिसलाई १-० को नतिजामा पराजित गरेको थियो ।

'आजको खेल जित्नै पर्ने दबाब थियो', खेलपछि प्रशिक्षक कटुवालले भने, 'खेलाडीको चोट र निलम्बनका कारण थप दबाब उत्पन्न भएको थियो । तर हामी सफल भयौं ।'

खेलको सुरुआतमा पुलिसले ५ जना डिफेन्डर खेलाएकाले खेलमा समस्या भएको बताए ।

'सुरुमा गोल निस्कियो त्यसलाई सेभ गर्ने र सेकेन्ड हाफमा काउन्टर अट्याक गर्ने रणनीति थियो,' उनले भने, 'सफल भयौं ।'

एएफसी कपका लागि मछिन्द्रले विदेशी खेलाडी थपेर बलियो टोली बनाउने प्रशिक्षकले बताए ।

आज मछिन्द्रले भारतीय नयाँ डिफेन्डरलाई मैदानमा उतारेको थियो । महत्त्वपूर्ण खेलमा उसलाई खेलाउनुको कारण छिटै घुलमिल हुने उनले बताए ।

'अरू क्लबको खेलाडी चाहिँ होइन, विदेशी चाहीँ ल्याउँछौं,' उनले भने, '७ वटै खेलमा सबैलाई एउटै प्रतिस्पर्धी पर्दैन । हामीलाई कठिन थियो । यसपाली हामीले कठिन प्रतिद्वन्दी पाएका थियौं ।'

लगातार ६ खेलमा क्लिनसिट राखेका विशालले आफ्नो टोलीको मेहेनतले त्यो सम्भव भएको बताए । खेल जित्नका लागि गोल गर्न मात्रै होइन, रोक्न पनि सक्नु पर्छ भन्ने ट्रेनिङदेखि कै रणनीति रहेको बताए ।

मछिन्द्रका कप्तान सुजल श्रेष्ठले एएफसी कपमा छनोट भएसँगै खुशी लागेको प्रतिक्रिया दिए ।

'गत सिजन आर्मीले खेल्दा दुःख लागेको थियो । यसपाली मौका पायौं, खुशी छौं,' उनले भने, 'टिम हेरौं । हाम्रो राम्रो टोली छ मेरो विचारमा अगाडि बढ्छौं जस्तो लाग्छ ।'

पराजित टोलीका प्रशिक्षक अनन्त थापाले हारको दु:ख भए पनि साविक विजेतासँग आजको प्रदर्शनले खेलाडीको मोरल अप भएको बताएका छन् ।

'कठिन खेलहरू सकिएका छन्, रेलिगेसनमा जाँदैन होला,' उनले भने, 'गोल खाँदा हार्नु पर्यो । प्रदर्शनबाट चाहीँ मोरल अप भएको छ ।'