सहिद स्मारक ए डिभिजन लिग

पुलिसविरुद्धको जितसँगै मछिन्द्रले एएफसी कप खेल्ने निश्चित

काठमार्डौं । सहिद स्मारक लिगमा आइतबार नेपाल पुलिस क्लबविरुद्ध १-० को जित निकालेसँगै मछिन्द्र क्लबले एएफसी कपको प्रारम्भिक चरण खेल्ने निश्चित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रलाई एएफसी कपसम्म पुग्न आजको खेल जित्नै पर्ने दबाब थियो ।

एएफसीको आयोजनामा हुने महाद्वीप स्तरीय प्रतियोगिताका लागि लिग च्याम्पियन छनोट हुने व्यवस्था छ । यद्यपि, सहिद स्मारक लिगको तालिका सार्वजनिक हुने समयसम्म लिग नसकिने भएकाले सातौं चरणपछि शीर्ष स्थानको टोलीले एएफसी कप खेल्ने सहमति भएको हो ।

सोही सहमति बमोजिम मछिन्द्रले एएफसी कपको प्रारम्भिक खेल्ने निश्चित भएको छ । दुई वर्षअघि २०७६ सालमा पहिलो पटक लिग च्याम्पियन बनेको मछिन्द्रले एफसी क्लब लाइसेन्स नपाएका कारण प्रतियोगिता गुमाउनु परेको थियो । र, मछिन्द्रको स्थानमा साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप खेल्ने मौका पाएको थियो ।

आजको जितसँगै मछिन्द्रले दुई वर्षअघि वञ्चित हुनु परेको प्रतियोगिता फेरि खेल्ने मौका पाएको छ । सातौं चरणपछि शीर्ष स्थानमा बस्नका लागि मनाङले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई शनिबार पोखरा रंगशालामा १-० को नतिजामा पराजित गरेको थियो ।

मनाङको त्यो जितसँगै मछिन्द्र क्लबसामु आजको खेलमा जितको विकल्प थिएन । मछिन्द्रलाई पहिलो पटक एएफसी कपसम्म पुर्याउन राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सुनिल बलले गरेको एक मात्र गोल पर्याप्त बन्यो ।

सुनिलले २१औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट हेडरमार्फत गरेको प्रहार गोलमा परिणत भएको थियो । मिडफिल्डर विशाल राईले प्रहार गरेको फ्रिकिकलाई सुनिलले ६ यार्ड बक्स अगाडिबाट हेडर प्रहार गरेका थिए ।

त्यो गोलसँगै खेलमा अग्रता बनाएको मछिन्द्रले थप मौका सिर्जना गरे पनि स्कोरमा परिणत गर्न सकेन । पुलिसको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको मछिन्द्रका विशालले ४३औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको सशक्त प्रहारमा पुलिसका गोलकिपर सत्रुघन चौधरी बाधक बनेका थिए ।

दोस्रो हाफमा पनि विभागीय टोलीमाथि हाबी बनेको मछिन्द्रका मनिष डाँगीले ६८औं मिनेटमा खाली पोष्टमा गरेको प्रहार फ्रममा राख्न सकेनने । मनिषले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा नपर्दा मछिन्द्रले अग्रता सुरक्षित गर्ने सुन्दर मौका गुमाएको थियो ।

साविक विजेताविरुद्ध आक्रमणका विरलै मौका बुनेको पुलिसले ७४औं मिनेटमा पेनाल्टी एरिया ठीक अगाडि फ्रिकिक पाएको थियो । मछिन्द्रका एन्द्रेस नियाले पुलिसका सुमन लामामाथि फाउल गरेसँगै पाएसँगै पुलिसले गोलको अवसर पाएको थियो ।

सोही फ्रिकिकमा सुमनले प्रहार गरेको बल पोलमागालेर फर्किएको थियो । विभागीय टोलीमाथि पुनः हाबी बनेको मछिन्द्रका कप्तान सुजल श्रेष्ठले ७८औं मिनेटमा गरेको प्रहार पुलिसका गोलकिपर चौधरीले पञ्च आउट गरिदिएका थिए ।

जितसँगै मछिन्द्रले ७ खेलबाट १७ अंक जोडेर एक अंकको अग्रता कायम राखेको छ । समान खेलबाट १६ अंक जोडेको मनाङको १६ अंक छ । पराजित पुलिसको ६ खेलबाट ६ अंक छ । सात खेलमा एक मात्र जित निकालेको पुलिस दशौं स्थानमा छ ।