इङ्लिस प्रिमियर लिग

शीर्ष स्थानमा सिटीलाई आठ अंकको अग्रता

लन्डन । फिल फोडिनको गोलमा म्यानचेस्टर सिटीले बुधबार ब्रेन्टफोर्डलाई १-० ले हराउदै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आठ अंकको अग्रता लिएको छ । 

सिटीले आफ्नो पछिल्लो तीन खेलमा १७ गोल गरे पनि वर्ष २०२१ को अन्तिम खेलमा ब्रेन्डफोर्डविरुद्ध गोल गर्न पेप ग्वार्डिओलाको टोलीलाई कठिन भएको थियो ।

१६औं मिनेटमा फोडिनले गरेको गोल सिटीको जितमा पर्याप्त बन्यो । सिटीले दोस्रो हाफमा थप दुई गोल गरे पनि दुवै गोलले मान्यता पाएन । 

२० खेलमा ५० अंकसहित सिटी शीर्ष स्थानमा छ । समान खेलमा ४२ अंक जोड्दै चेल्सी दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको लिभरपुल ४१ अंक जोड्दै तेस्रो स्थानमा छ । 

सिटीले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको हो । चेल्सीेले बुधबार ब्राइटनसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो भने लिभरपुल मंगलबार लेस्टर सिटीसँग स्तब्ध भएको थियो । चेल्सी र लिभरपुलले स्पष्ट तीन अंक जोड्न नसक्दा सिटीले त्यसको फाइदा उठाउन सफल भयो ।

आइतबार लिभरपुल र लिड्सबीचको खेल स्थगित भएको थियो ।