भारतीय महिला लिग

सेथु चौथो स्थानमा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा र रक्षक गीता रानासम्मिलित सेथु एफसीले भारतीय महिला लिगको आफ्नो खेलमा शुक्रबार होप्स फुटबल क्लबमाथि ३-१ को जित निकालेको छ ।

जितसँगै १२ खेलमा १७ अंक जोडेको सेथुले चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित होप्स समान खेलबाट १६ अंकका साथ पाँचौं स्थानमा रह्यो ।

तिलक मैदानमा सेथुलाई जित दिलाउन काविया पाकिरिसामी, करेन एस्ट्रोसियो र लिशाम बबिना देवीले गोल गरे । होप्सका लागि नेहाले गोल गरिन् ।

खेलको २०औं मिनेटमा नेहाले गोल गर्दै होप्सलाई अग्रता दिलाएकी थिइन् । १० मिनेटपछि पाकिरिसामीले सेथुलाई बारबरीममा ल्याइन् ।

६०औं मिनेटमा एस्ट्रोसियोले गोल गर्दा सेथु २-१ ले अगाडि बढ्यो । आठ मिनेटपछि बबिना देवीले गोल गर्दै सेथुलाई ३-१ को जित दिलाइन् ।

पहिलो रोजाइमै खेलेका एन्जिला र गीताले पूरा समय मैदानमा बिताएका थिए ।