पिस प्वाइन्ट कप

पिस प्वाइन्टको जितमा राहुलको १४ गोल

काठमाडौं । आयोजक पिस प्वाइन्ट ‘ए’ छैटौं पिस प्वाइन्ट कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

सानो गौचरण मैदानमा पिस प्वाइन्टले प्रस्फुटनलाई २४-१ को विशाल अन्तरले पराजित गर्यो । पिस प्वाइन्टको जितमा राहुल लामाले १४ गोल गरे । यसैगरी अभय घिमिरेले तीन  पवन बुढाथोकी, विशेष थिङ र प्रज्ञान राईले समान दुई तथा युबिक ढकालले एक गोल थपे । प्रस्फुटनका कुशल गिरीले सान्त्वना गोल फर्काए ।

मनकामना र एकलब्य पनि सेमिफाइनलमा पुगे । मनकामनाले एनसीसीएसलाई ९-० को फराकिलो अन्तरले हरायो । विजेता टोलीका लागि सनिल मगर र अनिश दंगालले समान दुई तथा कृष्ण मोक्तान, मानाव बम्जन र रोजन चिमरियाले समान एक गोल गरे । बाँकी २ गोल आत्माघाती थियो ।

एकलब्यले सम्भावीमाथि ४-० को जित दर्ता गर्यो । एकलब्यका लागि  निरज कोइराला, विशेष खड्का, रोहन बस्नेत र अनिल शाहीले समान एक गोल गरे ।

सेमिफाइनलमा गेटवेले एकलब्य तथा पिस प्वाइन्टले मनकामनाको सामना गर्नेछन् ।