नेपाल सुपर लिग

बराबरीले निरास बनाएको छः प्रशिक्षक गिलान

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पुछारको टोली वीरगंज युनाइटेडसँग बराबरीमा रोकिएपछि ललितपुर सिटी एफसीका प्रशिक्षक इभान गिलानले आफू निराश बनेको बताए ।

‘हामीले जित निकाल्न सक्थ्यौं । तीन अंक ल्याउन नसकेकोमा निरास छु । एक अंक मात्र ल्याउन सक्यौं र दोस्रो स्थानमा छौं । आगामी खेलमा राम्रो गर्ने प्रयास गर्नेछौं । दोस्रो हाफमा टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । पाएका मौकालाई सदुपयोग गर्न नसक्दा खंक बाँड्नु पर्यो । अझै गोल हुनसक्थ्यो,’ गिलानले भने,‘ हामीले दुवै गोल सहज रूपमा ब्यहोर्यौ । त्यो रोक्न सकिन्थ्यो । यसमा म खुसी छैन । टोलीको प्रदर्शन खासै नराम्रो छैन । तर केही समस्या भने देखिएको छ । आफ्नो रणनिति अनुसार खेल्न प्रयासमा छौं । सबै खेल फाइनल सरह नै छन् । कुनै पनि टोलीलाई कमजोर ठानेका छैनौं ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २-२ को बराबरीमा रोकिएपछि ललितपुरले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।  लगातार तेस्रो बराबरीसँगै चार खेलमा ६ अंक जोडेको ललितपुर दोस्रो स्थानमा छ । तीन खेल खेल्दै पहिलो अंक जोडेको वीरगंज पुछारमा छ ।